” समय ” ( गद्य कविता )
२२, भदौ ।
समय बलवान् छ,
दुनियाँ गोल छ,
सबै मस्त छन् – ब्यस्त छन्
आ- आफ्नै धुनमा ।
कसैलाई कसैको कुरा सुन्ने
समय छैन ।
छोराछोरी संग
आफ्ना बृद्ध बाउ आमाको लागि
समय छैन,
डाक्टर संग बिरामीको गुनासो सुन्ने
समय छैन ,
शिक्षक संग शिष्यको प्रश्न सुन्ने
समय छैन ,
सेना – प्रहरी संग
सीमा रक्षा र जनधनको रक्षा गर्ने
समय छैन !
विश्वमा बन्दाबन्दी छ,
कामधन्दामा मन्दामन्दी छ,
तैपनि ,मान्छे संग समय छैन ।
साच्चै समय छैन या
मात्र समय छैन भन्या हो?
वा समयको उचित
ब्यवस्थापन गर्न नजान्या हो !?
तर दुनियाँ गोल छ,
समय अनमोल छ,
आफ्नो कर्मले भोलि-
आफैलाइ पोल्छ- पिरोल्छ।
त्यसैले ,समयमै समय निकालौ,
पालो सबैको आउँछ- नभुलौ,
सबैले समयको माग अनुसार
आ- आफ्नो जिम्मेवारी निभाऔ,
बाचौ र समय बचाउ :
अलिकति घरपरिवारको लागि ,
अलिकति इष्टमित्र – छरछिमेकको लागि ,
अलिकति साथिसङी – सरसमाजको लागि ,
अलिकति देश र जनताको लागि ,
अलिकति कर्तव्य र जिम्मेवारीको लागि ,
र अलिकति प्रकृतिको लागि र आफ्नै लागि ।।
जय होस् । हरि क्षेत्री । बुटवल – १२, हाल- नेपालगन्ज
