लघुकथा :- क्षोभ

  
दैनिक अभियान शनिबार, साउन ३, २०७७

 

– ईशा शाह

धेरै पछि म त्याँहा पुगेको थिएँ । कुनै बेला म रेगुलर पुग्ने कफीसपमा नगएको धेरै भएको थियो । आज मलाई त्यहाँ देख्दा मलाई चिन्नेहरुले दंग परेर म नआउनुको कारण सोधे । मैले अफिशीयल काममा अल्मल्लिएको कुरा बताएँ ।
” आज सरको सिटमा अरुनै बसेका छन् । आउने खवर गर्नु भएको भए त हामी रिजर्व गरेर राखि दिन्थ्यौं नि केही भन्नु भएन । ” एउटाले भन्यो ।
” साथी भएको भए भन्थें पनि होला ! एक्लै भएकोले …… ? ” मैले सोफातिर हेर्दै भनें ।
” लेख्ने मूड भए त त्यही सोफा ठिक हुन्थ्यो । ” अर्कोले थप्यो ।
” होईन आज धेरै बेर म बस्दिनँ मात्र एउटा क्यापाचिनो । ”
” तातो तातो जिब्रो पोल्ने ! ” मैले भन्दा अघि अर्कोले उछिन्यो ।
” बिर्सेका रहेनछौ, पहिला एक मग तातो पानी ल्याऊ अनि कफी है ? ” मैले काउन्टरमा भनें ।
” हस् सर, हजुर बसौं म तुरुन्तै पठाउँछु । ” भन्दै उसले मेरो अर्डरलाई कम्प्युटरमा ईन्ट्रि गर्यो ।
मैले पैसा दिएँ । बिल अनुसारको पैसा कटाएर बाँकी पैसा र बिल पाएपछि म एउटा सोफामा गएर बसें । तर मन भने सधैं बस्ने सोफामा जान खोज्दै थियो ।
म अक्सर फुर्सद हुँदा आएर बस्ने ठाँउ हो यो , त्यसैले मलाई यहाँ सबैले चिन्छन् । तर आज म एक्लै थिएँ । एक्लिएको कारणले नआएको म, मैले चाहेर आउँदा पनि मलाई रमाईलो लागेन । बस्न भन्दा बढि हिंडीहाल्न मन लाग्यो । बाध्यता ! अर्डर गरेको कफी पिउन बाँकी नै थियो । तर आँखा पल्लो सोफा, जहाँ म नियमित बस्थें त्यही पुगिरहेको थियो । त्याँहा एउटा जोडि निष्ठा र म बसे जस्तै गरी बसेको थियो । यि को होलान् ? म यस्तै सोच्दै थिएँ ।
” सर कफी । ” को आवाजले मेरो तन्द्रा टुट्यो ।
मैले उसलाई हेरें । उसले मुस्कुराउँदै कफी टेबलमा राख्यो र रित्तो किश्ती बोकेर छेऊ लागेर उभियो ।
” भयो जाऊ म कफी मात्रै पिउँछु । ” मैले उसँग भनें ।
” अर्डरको लागि होईन सर । ”
” अनि ? ”
” म्याडम खोई सर ? ”
” निष्ठा ! शायद उनी मेरो भाग्यमा रहिनछिन्, म भित्र उनी प्रति एकप्रकारको क्षोभ थियो त्यसैले …..! “ मैले कफी पिउँदै रुखो स्वरमा भने ।
उ अमिलो मुख लगाएर एकछिन उभियो । अनि के सोचेर हो कुन्नि बाटो लाग्यो ।