शशीप्रकाशको प्रशिक्षण लिंदा …..

  
दैनिक अभियान शनिबार, फाल्गुन ४, २०७५

बुटवलका लेखकहरूसँग छलफल गर्दै शशीप्रकाश

शशीप्रकाशहरु नक्सलवादी आन्दोलनबाट टाढिएपछि शुरुमा अध्ययनमा समर्पित भए । उनीहरुले मार्क्स, एंगेल्स, लेनिन लगायतका कम्युनिष्टहरुको रचनालाई गम्भीरतापूर्वक अध्ययन गरे । त्यो अध्ययनको प्रकाशमा भारतीय समाजको वर्ग विश्लेषण गरे, भारतीय अर्थतन्त्रको विश्लेषण गरे । उनीहरु भारतीय समाज पूँजीवादमा प्रवेश गरिसकेको निष्कर्षमा पुगे । अनि संघर्षको कार्यक्रम बनाए । नक्सलवादी आन्दोलनले नौलो जनवादलाई जोड दिन्थ्यो । अबको संघर्ष पूँजीवादको विरोधमा हुनेहुनाले समाजवादी हुनुपर्ने ठहर गरे । यो अध्ययन प्रक्रिया चार वर्ष चलेको थियो । 

‘भारतको लखनउमा मार्क्सवाद सम्बन्धी दशदिने क्लास हुँदैछ सहभागी हुन जाने मनस्थिति बनाउनपर्यो ।’ साथीहरुबाट यसरी प्रस्ताव आउँदा दोमन भयो । एकातर्फ उत्साहको लहर फैलियो । केही नयाँ सिक्ने अवसर प्राप्त हुन गइरहेको अनुभुत गर्दा मनमा उत्साहको लहर फैलिन्थ्यो भने अर्कोतर्फ साथीहरुले हामीलाई नै किन छनौट गरेका होलान् भन्ने जिज्ञासा पनि थियो । साथीहरुसँग यस विषयमा निकै छलफल पनि भयो । विचारको आदानप्रदान हुने र त्यहाँका कम्युनिष्टहरुको कार्यशैली पनि अवगत हुने हुनाले जानु उपयुक्त हुने साथीहरुको तर्क थियो । दश दिन क्लासको लागि कम्तीमा बाह्र दिन छुट्टाउन पथ्र्यो । बाह्र दिनको फुर्सद निकाल्न जागिरे साथीहरुलाई गाह्रो पर्ने हुनाले पनि तुलनात्मक रुपले फुर्सदिला हामीहरुलाई सहभागी हुन साथीहरुको जोड थियो ।
सल्लाह अनुसार मंसिर १५ गते शनिबार दिउँसो दुई बजेतिर म र पूर्णचन्द्र भट्टराई चौराहाबाट भैरहवातर्फ हानियौं । हामीलाई सुनौली हुँदै फरिन्दा रेलस्टेशन पुग्नु थियो । फरिन्दाबाट राती ११ बजे लखनउको लागि रेल जाने जानकारी थियो । हामीलाई समयमा नै रेलको टिकट काट्नुपर्ने थियो । फरिन्दा पुग्दा पाँच बजेको थियो । पुग्नासाथ रेलको जेनरल टिकट काट्यौ । रातको ११ बजे रेल चढ्यौ । रेलमा पुरै भीड थियो । सीट पाउन मुस्किल थियो । हामी चढेको डिब्बामा तलको बस्ने ठाउँ पुरै भरिएको थियो भने माथिल्लो सुत्ने ठाउँमा एक एक जना युवाहरुले ठाउँ ओगटेका थिए । ती युवाहरु सरकारी जागिरको लागि परीक्षा दिन लखनउ जाँदै रहेछन् । हामीले उनीहरुसँग संगत गर्यौ । हामी नेपालबाट आएको हो सीट मिलाइदेउ भनेर आग्रह गर्यौ । त्यतिबेला विवाहपञ्चमीको लागि मोदी नेपाल आउने हल्ला थियो । ती युवाहरुलाई यो कुरा थाहा रहेछ । उनीहरुले सीताको माइतीबाट आएका तिमीहरु हाम्रा सालाहरु रहेछौ भन्दै सीट मिलाइदिए । उनीहरुसँग रातभरी नै गफ भयो । उनीहरु मोदीलाई घृणा गर्दै थिए भने सुवासचन्द्र बोस र भगतसिंहको चर्चा गर्दै थिए । भगतसिंह र सुवासचन्द्रको बारेमा पढेको र फिल्म हेरेको कारणले हामीले पनि कुरामा कुरा मिलाउन सक्यौ । छिट्टै नै दोस्ती जम्यो । जसले विदेशी भूमिमा यात्रा निकै सहज बनायो ।
लखनउमा ओर्लेपछि दिइएको नक्सा र जानकारी अनुसार तोकिएको ठाउँमा पुग्यौ । साथीहरु हाम्रै प्रतिक्षामा हुनुहुन्थ्यो । हामीलाई शुरुमा जनचेतना पुस्तकालय भएको भवनमा पुर्याइयो । त्यो एउटा ट्रष्ट हो । ट्रष्टको भवन अण्डरग्राउण्ड सहित तीनतल्लाको थियो । अण्डरग्राउण्डमा पुस्तकालय थियो भने भूँई तल्ला पुस्तक पसल र माथिल्लो तल्ला आवास र अफिसियल प्रयोजनको लागि थियो । पुस्तकालयमा सबैखालको पुस्तकहरुको राम्रो संकलन थियो । मार्क्सवादी साहित्यमा विशेष जोड दिइएको देखिन्थ्यो । पुस्तकालय वातानुकुलित थियो । अध्ययन कक्ष निकै थियो । पुस्तकालयको पुस्तक त्यहीं बसेर पढ्नको लागि मासिक सय भारु लाग्ने रहेछ भने आफ्नो पुस्तक लिएर त्यहाँ बसी पढ्नको लागि मासिक पाँचसय भारु लाग्ने रहेछ । पुस्तकालयको पढ्ने वातावरणको कारण पुस्तकालयको पुस्तक उपयोग गर्ने बाहेक विभिन्न परीक्षाको तयारी गर्ने विद्यार्थीहरु पनि त्यहाँ पढ्न आउँदा रहेछन् । घरमा विविध कारणले अध्ययन वातावरण नभएका विद्यार्थीको लागि त्यो पुस्तकालयले वातावरण प्रदान गरेको रहेछ ।
केही समय उक्त ट्रस्ट भवनमा आराम गरेपछि हामीलाई प्रशिक्षण स्थल पुर्याइयो । प्रशिक्षणस्थल निकै शान्त र एकछट्ट थियो । त्यहीं हामीले दश दिन बिताउनु थियो । गएको दिन सबै अनौपचारिक छलफलमा बित्यो । अर्को दिनदेखि प्रशिक्षण शुरु हुँदै थियो । प्रशिक्षणका विषयहरु पहिला नै प्राप्त थियो । ६ वटा विषयमा प्रशिक्षण हुँदै थियो । विषयहरु निकै ओझिला थिए । हामीले साथीहरुको सल्लाह बमोजिम केही तयारी पनि गरेका थियौ । साथीहरुले थप सल्लाह र बहसका केही प्रश्नहरु पनि टिपाउनुभएको थियो । मुख्य प्रशिक्षक शशीप्रकाश रहेको थाहा पाउँदा निकै खुसी लाग्यो । शशीप्रकाशको नाम र चर्चा साथीहरुको मुखबाट प्रशस्त सुनेको थिए तर कारणवश भेट्न पाएको थिएन । अघिल्लो वर्ष शशीप्रकाश, सत्यम, कात्यायनी नेपाल आएका थिए । शशीप्रकाशले चितवन, काठमाडौं र बुटवलमा बोलेका थिए । उनको धाराप्रवाह मन्तव्य, बौद्धिक उचाई, स्मरण शक्ति र विषयबारेको गहिरो बुझाईको चर्चा सुन्दा नै एकपटक भेट्ने इच्छा थियो । मेरो त्यो मनोइच्छा पुरा हुँदैथियो साथै उनीबाट नै प्रशिक्षण लिंदै थिए ।
लगभक्त ६५ वर्ष कटेका, अग्लो कद, चौडा निधार, सेतो दाह्री, सौम्य अनुहार— शशीप्रकाशको व्यक्तित्व नै मान्छेलाई प्रभावित पार्न काफी थियो । सुनेको थिएँ चितवनमा उनले लगातार दुई घण्टा धाराप्रवाह बोलेका थिए । त्यो पनि थेगो, रिपिटेशन र अल्याङमल्याङ विहिन शुद्ध भाषण । तर प्रशिक्षण लिँदा पो थाहा भयो उनी ६ घण्टासम्म लगातार बोल्न सक्दा रहेछन् । टेबल अगाडि कुर्सीमा बसेर अलिकति पनि नहल्ली लगातार बोल्न सक्दा रहेछन् । चिया भने लगातार खानुपर्ने रहेछ । उनको स्मरण शक्ति निकै नै बलियो रहेछ । कुनै शब्द नछुटाई, नअल्मलिकन र किताबको स्रोत, वाक्यांश नै प्रस्तुत गर्दै प्रशिक्षण दिँदा हामी अचम्मै पर्यौं । एउटा मान्छेसँग कतिसम्म शक्ति हुँदोरहेछ ! उठेका जुनसुकै प्रश्नको उत्तर विषयको गहिराई र इतिहासबाटै प्रष्ट पार्दथे । प्रशिक्षार्थीहरुले अल्छि मान्न थालेभने बीच बीचमा जोक भनेर, कथाहरु भनेर पुनः विषयमा फर्काउँथे । आफू अगाडिको मानिस र समुहको मनोविज्ञान बुझेर व्यवहार गर्न शशीप्रकाश सिपालु रहेछन् ।
शशीप्रकाशको यो बौद्धिकता यत्तिकै तयार भएको रहेनछ । उनी पहिला नक्सलवादी आन्दोलनमा सहभागी थिए । सन् १९७८मा शशीप्रकाश र उनका साथीहरुले नक्सलवादी संघर्षसँग कार्यशैलीका साथसाथै विविध सैद्धान्तिक विमति राखे । शशीप्रकाशहरु नक्सलवादी आन्दोलनबाट टाढिएपछि शुरुमा अध्ययनमा समर्पित भए । उनीहरुले मार्क्स, एंगेल्स, लेनिन लगायतका कम्युनिष्टहरुको रचनालाई गम्भीरतापूर्वक अध्ययन गरे । त्यो अध्ययनको प्रकाशमा भारतीय समाजको वर्ग विश्लेषण गरे, भारतीय अर्थतन्त्रको विश्लेषण गरे । उनीहरु भारतीय समाज पूँजीवादमा प्रवेश गरिसकेको निष्कर्षमा पुगे । अनि संघर्षको कार्यक्रम बनाए । नक्सलवादी आन्दोलनले नौलो जनवादलाई जोड दिन्थ्यो । अबको संघर्ष पूँजीवादको विरोधमा हुनेहुनाले समाजवादी हुनुपर्ने ठहर गरे ।
यो अध्ययन प्रक्रिया चार वर्ष चलेको थियो । उनीहरुको समूह एकछट्ट, कोलाहलबाट टाढाको ठाउँमा पुग्थे । पहिला के के पढ्ने भनेर सूची बनाउँथे । अनि त्यो सूचीअनुसार निरन्तर अध्ययन गर्थे । अध्ययनसँगै बहस गर्थे । यसरी चार वर्षसम्म निरन्तर सामुहिक अध्ययन, खोज, चिन्तनले भारतीय समाजको अध्ययन र माक्र्सवादको गहन अध्ययन सम्भव भयो । त्यो चार वर्षको अवधिमा उनीहरुले पढ्ने काम मात्र गरेनन् । भारतका साना, ठूला सबै कम्युनिष्ट पार्टीहरुसँग सम्पर्क गरे । उनीहरुलाई भेटे र विचार मन्थन गरे । त्यो चार वर्षे अवधिको कष्टसाध्य मिहिनेत पछि बल्ल उनीहरुले नयाँ पार्टीको आवश्यकता महसुस गरे । अनि नयाँ पार्टी स्थापना गरे । पार्टी स्थापनापूर्व समाजको मसिनो अध्ययन गर्ने शशीप्रकाशहरुको शैली अनुसरणीय लाग्यो । नेपाली समाजको मसिनो अध्ययन र वर्ग विश्लेषण नगरिकन नेपाली कम्युनिष्ट आन्दोलनले सही बाटो लिन नसक्ने प्रष्ट हुन्छ ।

शशीप्रकाशहरु नयाँ पुस्तालाई सैद्धान्तिक हिसाबले खार्नेमा बढी जोड दिँदारहेछन् । उनीहरु विश्वविद्यालयबाट मिहिनेती विद्यार्थीहरुलाई संगठनमा ल्याउँदा रहेछन् । केही समय सैद्धान्तिक अध्ययनमा सहभागी गराएर शिक्षित गरेपछि जनतामाझ काम गर्न पठाउँदा रहेछन् ।

शशीप्रकाश त्यो कष्टसाध्य प्रक्रियाबाट गुज्रेका रहेछन् । त्यसैले नै उनीमा विषयबारे गहिरो ज्ञान निर्माण गरेको रहेछ । उनीहरुको त्यो अध्ययन शिलशिला यत्तिमै टुंगेको छैन । पछिल्लो बीस वर्षदेखि शशीप्रकाश निरन्तर नवउदारवादबारे अध्ययन गरिरहेका छन् । उनी हरेक विषयमा अपडेटेड भएको थाहा हुन्छ । पछिल्ला प्रकाशित पुस्तक, नयाँ नयाँ विश्लेषणबारे उनी पुरै जानकारी राख्छन् । नेपाली कम्युनिष्ट नेताहरुको सबै प्रकाशनहरु अध्ययन गरेका रहेछन् । मोहनविक्रम, मोहन वैद्य, प्रचण्ड, बाबुराम भट्टराई, नारायणमान बिजुक्छे लगायतका रचनाहरुको अध्ययन गरेका छन् । फरक फरक नाममा नेपाली कम्युनिष्ट आन्दोलनबारे सैद्धान्तिक धारणा व्यक्त पनि गरेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनबारे नजिकबाट नियालेका उनी वैदेशिक हस्तक्षेपबारे भने सचेत छन् ।
उनी कुनै पनि देशको कम्युनिष्ट आन्दोलन त्यहिं देशको जनताको भरमा हुने र अरु कुनै देशले थोपर्न नहुनेमा प्रष्ट छन् । त्यसैले उनले प्रष्ट भन्थे— “मार्क्सवादको सैद्धान्तिक पक्षबारे हामी छलफल, बहस गर्न सक्छौं । हामीले जानेको–बुझेको बताउन सक्छौं तर नेपालको कम्युनिष्ट आन्दोलन कुन बाटोबाट जाने भन्न सक्दैनौ । त्यो नेपाली कम्युनिष्टहरुको काम हो ।” नेपालमाथि भारतीय सत्तापक्षको हस्तक्षेपको उनी खुलेर विरोध गर्दा रहेछन् ।
गत वर्ष चितवनमा अक्टाेबर क्रान्तिबारे विचार राख्दै शशीप्रकाश

इतिहासले समाजवाद केवल कल्पना होइन त्यो स्थापित हुन सक्दोरहेछ भन्ने पुष्टि गरिसकेकोे छ । तर, सोभियत संघ र पूर्वी युरोपेली समाजवादी देशहरुको असफलताले समाजवाद स्थापनामात्र ठूलो कुरा होइन रहेछ समाजवादको रक्षा र उन्नतिको बारेमा चिन्तन आवश्यक रहेछ भन्ने पुष्टि गर्यो । संसारकै कम्युनिष्ट आन्दोलनलाई पटक–पटक पुर्नमुल्याकंन गर्नुपर्छ अनि बल्ल संघर्षको सही बाटो अंगिकार गर्न सकिन्छ । त्यसैले शशीप्रकाशहरु नयाँ पुस्तालाई सैद्धान्तिक हिसाबले खार्नेमा बढी जोड दिँदारहेछन् । उनीहरु विश्वविद्यालयबाट मिहिनेती विद्यार्थीहरुलाई संगठनमा ल्याउँदा रहेछन् । केही समय सैद्धान्तिक अध्ययनमा सहभागी गराएर शिक्षित गरेपछि जनतामाझ काम गर्न पठाउँदा रहेछन् । अहिले उनीहरुको संगठनका साथीहरु मजदुर, किसान, पेशाव्यवसायीहरुमाझ काम गरिरहेका रहेछन् । ती मध्ये धेरैजसो विविध विषयका विज्ञहरु छन् । कम्युनिष्ट आन्दोलन सिद्धान्त र व्यवहारको तालमेल हो भन्ने उनीहरुको गतिविधिले पुष्टि हुन्थ्यो ।

हामीले बिहान आठबजेदेखि बीच बीचमा केही विश्राम र खानाको समय छोडेर राती एघारबजेसम्म प्रशिक्षण लियौं । प्रशिक्षण द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद, राजनीतक अर्थशास्त्र, राज्य र क्रान्तिबारे मार्क्सवादवादी सिद्धान्त, कम्युनिष्ट पार्टीबारे बोल्शेविक अवधारणा, सर्वहारा क्रान्तिको रणनीति, समाजवादी संक्रमणको स्वरुप समस्या र चुनौतीहरु, पूँजीवादको पुनःस्थापनाको कारण लगायतका विषयहरुबारे प्रशिक्षण केन्द्रीत थिए । दशदिनको प्रशिक्षणले विषयबारे गहिरो ज्ञान दिइहाल्ने त होइन तर विषयको विविधता र गहिराईबारे बोध गरायो । थप अध्ययनको लागि उत्प्रेरित गर्यो । दशदिनपछि नेपाल फर्कदै गर्दा नेपाली समाजको मसिनो अध्ययन र नेपाली कम्युनिष्ट आन्दोलनको पुनरावलोकनको आवश्यकता महसुस गरिरह्यौ । अहिले नेपालका कम्युनिष्ट पार्टीहरुमा फैलिँदो अध्ययनप्रति अरुचि, विषयको गहिराईमा नगई सतही दृष्टिकोण राख्ने भूलले नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य डरलाग्दो दुर्घटनाको संकेत गरिरहेको महसुस भईरह्यो । दशदिनपछि हामी दश दिन अघिको मान्छे रहेका थिएनौ ।