चार विगाहामा रोपाइँ गरेर मनायो धान दिवस

  
दैनिक अभियान सोमवार, असार १५, २०७७

 डि. बि. सुस्लिङ

बुटवल, १५ असार । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भता र समृद्धि’-भन्ने मूल नाराका साथ यो वर्ष १७ औं राष्ट्रिय धान दिवस मनाइदै छ । विश्वव्यापी कोरोना महामारीसँगै लकडाउनका कारण विगत वर्षमा जस्तो तामझाम र ठूला सभासमारोह विनानै यो वर्ष दिवस मनाइएको हो । मानो खाएर मूरी उब्जाउने महिनको रुपमा मानिदै आएको मध्य असार (१५ असार) लाई नेपाल सरकारले वि.स. २०६१ सालमा राष्ट्रिय धान दिवसका रुपमा मनाउने घोषणा गरेपछि महत्व थप बढेको हो ।

विश्वव्यापी कोरोना महामारीले मुलुक सन्त्रासमा रहेपनि रोपाई गर्ने कृषकहरुका लागि भने यो वर्ष मौसम अनूकुल भएको छ । गतवर्षभन्दा यो वर्ष मौसम तथा वर्षाले साथ दिएकोहुँदा छिटो रोपाई सुरु भएको प्रदेश ५ कृषि विकास निर्देशनलायका सूचना अधिकृत हेमनाथ शर्माले बताए । प्रदेश ५ मा यो वर्ष ३४ दशमलव ८ प्रतिशत रोपाई सकिएको छ । निर्देशनालयले शुक्रबारसम्म लिएको तथ्याङ्क अनुसार तराईका जिल्लाहरुमा करिव ५० प्रतिशत रोपाई भएका छन् भने पहाडमा जिल्लाहरुमा १०/१५ प्रतिशतको हाराहारीमा रोपाई भएको हो । पहाडी जिल्लाका अधिकांश ठाउँहरुमा सिञ्चाइको अभावमा वर्षे झरीको भेलमा रोपाई गर्नु पर्ने बाध्यता रहेको छ । तराईका अधिकांश ठाउँमा सिञ्चाई सूविधा उपलब्ध भएकोहुँदा पहाडमा भन्दा बढी रोपाई भएको हो ।

कृषि निर्देशनालयले दिएको जानकारी अनुसार यो वर्ष तराईका जिल्लाहरु रुपन्देहीमा ५४ प्रतिशत, नवलपरासीमा ४५, पिलवस्तुमा ५५, दाङमा ४५, बाँकेमा ५२ तथा बर्दियामा ४६ प्रतिशत रोपाई सकिएको छ । यसैगरी पहाडका जिल्लाहरु पाल्पामा ५४, अर्घाखाँचीमा ८ दशमलव ८, गुल्मी मा ३ दशमलव ५, प्यूठानमा ४७, रुकुममा १० तथा रोल्पामा ९ दशमलव ५ प्रतिशत रोपाई सकिएको छ । प्रदेश ५ मा गत वर्ष ३ लाख ३० हजार ८ सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने यो वर्ष थप बढ्न सक्ने अनुमान गरिएको छ ।

नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाईमा ११८ जातका धान खेती गर्ने गरिन्छ । नेपाल सरकार कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपाललमा पछिल्लो वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यसैगरी गएको आव २०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आ.व. २०७४/०७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन उत्पादन भएको थियो भने आ.व. २०७३/०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्यालाई पुग्न वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ ।

सरकारले ५ वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्यका साथ १५ जिल्लामा वृहत धान उत्पादन कार्यक्रम सञ्चालन गरेको छ भने झापालाई धानको सुपर जोनका रुपमा घोषणा गरेको छ । सरकारले धानको उत्पादनलाई प्रति हेक्टर ३ दशमलव १ मेट्रिक टनबाट वृद्धि गरि ४ मेट्रिक टन पुर्याउने लक्षय लिएको छ । धान उत्पादनको नेपालमा कुल ग्रास्थ उत्पादनमा २ प्रतिशन योगदान रहेको छ । सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तराष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । साभार ग्लोबल आवाज अनलाईन समाचार