मेयर पाण्डेले भने-‘तुलसीपुरको पहाडी क्षेत्र टिमुर पकेट क्षेत्र हो’

प्रतापकोट र छिल्लीकोट तुलसीपुरको प्राथमिकतामा

  
दैनिक अभियान आइतवार, असार १४, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरको पहाडि क्षेत्रलाई टिमुर खेतिको पकेट क्षेत्र बनाउने घोषणा गरेको छ ।

टिमुरका लागि पहाडी क्षेत्रका उपयुक्त मौसम भएको उपमहानगर पालिकाले ठहर गरेको छ । व्यवसायीक दृष्टिले पनि टिमुर खेती मनग्ये आम्दानी हुने क्षेत्र भएकाले प्राथमिकतामा राखिएको मेयर घनश्याम पाण्डेले वताएका छन् ।

मेयर पाण्डेका अनुसार– टिमुर उत्पादनका लागि पहिलो चरणमा तुलसीपुरको प्रतापकोट र छिल्लीकोटलाई प्राथमिकतामा राखिएको छ ।

खेति फस्टाउन सके एउटै बोटबाट वर्षमा ३ हजारसम्म कमाउन सकिने मेयर पाण्डेले भने ।

पहाडलाई समृद्धिसँग जोडेर गरिबी हटाउनुका साथै ‘कोरोनाका कारण हलो र थलो खोजेर आउनेहरुलाई उपमहानगरपालिकाले अवसर सृजना गर्नु पर्ने पाण्डेले बताए । यदि हामीले छनौट गरेको टिमुर खेती सहि तरिकाले फस्टाएमा रोजगारी सृजना गर्ने गतिलो माध्यम वन्न सक्ने पाण्डेको आँकलन छ ।

वृक्षारोपण दिवसका अवसरमा पारिवारीक निजी वन संघ नेपाल दाङ्गले आयोजना गरेको टिमुर रोपण कार्यक्रम लाई सम्वोधन गर्दै मेयर पाण्डेले यस्तो बताएका हुन ।