सिंघीयाको बाढीले २ सय परिवार जोखिममा

  
दैनिक अभियान आइतवार, असार १४, २०७७

विराटनगर, १४ असार । दुई दिनदेखि परेको वर्षाले सिंघीया खोलाको बहाव बढेपछि विराटनगरसँग सीमा जोडिएको मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाको केही वडाको बस्ती जोखिममा परेको छ । विराटनगर १ र २ नम्बर वडा तथा कटहरी १ टाइगर बस्तिसहितको करिब दुई सय घरको सिंगो बस्ती जोखिममा परेको हो ।

विराटनगर १ को गंगाचौक, २ को सुकुम्बासी बस्ती र कटहरी गाउँपालिका १ टाइगर टोलको सिंगो बस्ती बाढीले जोखिममा रहेको स्थानीय बताउँछन् । ‘नदिबाट जोगिन तटबन्ध पनि बनाइएको थियो । तर, यही बेला बाढी तटबन्ध नाघेर घरखेतमा पस्न थालेको छ,’ कटहरी १ टाइगर टोलकी मनसरिया पासवानले बताउनुभयो । उहाँका अनुसार गत वर्ष पनि ठूलो बाढी आएकोले अहिले पनि दुई दिनदेखि परेको वर्षाले सिंघीया खोलाको बहाब बढेको कारणले स्थानीय समस्यामा परेको छन् ।

‘कतिबेला बाढी आउला, घर बगाउछ भनेर रातभरी नसुति जागरम बस्ने गरेका छौं,’ उहाँले भन्नुभयो, ‘पानी पर्ने बितिक्कै खोलाको पानी बढ्ने भएकोले त्यसैको डरले सुत्न सकेका छैनौं ।’ कटहरी १ टाइगर बस्तीमा रहेका एक सय घरधुरी बढी जोखिममा रहेको स्थानीयले बताएका छन् । टाइगर बस्तीका एक दर्जन बढी घरभित्र सिंघीया खोलाको पानीको बहाब बढेर पस्न थालेपछि आफन्तको घर र खाली चौरमा टेण्ड टाँगेर बस्न थालेका छन् ।

घरभित्र पानी पस्न थालेपछि ५ जनाको परिवार लत्ताकपडा र खाद्यान्नको पोको बनाएर नजिकको खाली चौरमा बस्न थालेको कटहरी १ डाइगर बस्तीका सन्तोष सरदारले बताउनुभयो । ‘दुई दिनदेखि परेको पानीको बहाब बढेपछि सिंघीया खोला घरभित्र पस्यो’ खाद्यन्नको सामाग्रीहरू सार्दै गरेका सन्तोषले भन्नुभयोे, ‘अब कति दिन खाली चौरमा रात काटनुपर्ने हो रु बाढीले बस्ती पनि कटान गर्न सुरु गरेको छ । हाम्रोमत अनलाईबाट साभार

सिंघीया खोलाबाट बालुवा, टुङ्गा र गिटी निकाल्ने गरिएकाले पनि बाढीले कुना खोल्दै लगेको हो । सडक निर्माण, निजी आवास निर्माणलगायत निर्माण कार्य अघि बढाउँदा अवैध रूपमा नदीजन्य पदार्थ झिक्ने गरिएको स्थानीयले बताउनुभयो । ‘ठूलो वर्षा सुरु हुनेबित्तिकै सिंघीया खोला सुसाएर आउँछ । झनै साँझपख गड्गडाहटले रातभर सुत्नसक्ने अवस्था हुन्न’ स्थानीय सन्तोषले भन्नुभयो, ‘खोला कटान गर्दै नजिकै पुगिसकेको छ । उठिबास हुनेभयो ।’

वर्षौंअघि पनि सिंघीया खोलाको बाढी खेतमा पसेर पुरै घरखेत बगाएको स्थानीय बताउँछन् । बर्षेनि जमिन कटान हुँदै गएपछि खाद्यान्न उत्पादन पनि घट्दै गएको स्थानीयको भनाई छ । नदीले कटान बढाउँदै गएपनि हालसम्म कतैबाट पनि तटबन्ध निर्माण गरी बस्ती जोगाउन सहयोग नभएको गाउँलेहरू बताउँछन् ।

नदी नियन्त्रणको पहल नहुँदासम्म बस्ती सुरक्षित नहुने स्थानीय सत्यम नेपालीले बताउनुभयो । गाउँपालिका र महानगरपालिका लगायत अन्य निकायमा पहल गर्दा पनि कतैबाट पनि पीडाको सुनुवाइ नभएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले नदी छेउका स्थानीयलाई सतर्क रहन आग्रह गरेको बताउनुभयो ।

शनिबार सिंघीया खोलाको बहाब बढेपछि विराटनगर १ र कटहरी १ टाइगर बस्तीको जोखिममा रहेको एक दर्जन बढी घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।