सेतो सिन्दूर

नन्दलाल आचार्य (लघु कथा)

  
दैनिक अभियान शुक्रबार, असार १२, २०७७

करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा सेतो धसेको छ ।

मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतुर्याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ । आमा उसलाई ‘हिरा’ नामले पुकार्दछिन् । म मझौला कदको छु । ‘पराक्रमी’ नाम राखिदिएकी छिन् । भाइ झन्डै म जत्रै र जस्तै छ । यद्यपि केही श्याम वर्णको छ । आमाले न्वारानमा उसको नाम ‘तमेष’ राखिदिएकी थिइन् ।

हामी एकै बेतका सन्तान हौँ रे । को पहिलो जन्म्यो र को पछि जन्म्यो, आमालाई पनि थाहा भएन रे । सुत्केरीको प्रशव पीडाले रन्थन्याउँदा उनी अर्धचेत अवस्थामा थिइन् रे । अग्लो–होचो भएका कारणले हामीहरू स्वयम्ले सामाजिक नाता सम्बन्ध तय गरेका हौ ।

एक पटक हामीहरू आमाकहाँ पुग्यौँ । आमाले सिउँदोमा अँझै सेतो दलेको पायौँ र, तीनै जनाले एकै स्वरमा सोध्यौँ, “आमा ! सिउँदोमा के दलेको, किन मलिन मुहार बनाएको ?”

आमाले शिर उठाइन् । क्रोधले राताराता आँखा पारिन् । दाह्रा किटिन् । आमाको यस्तो प्रचण्ड रूप देखेर हामी डरले भाग्न पनिसकेनौँ । यथास्थितिमा रहन पनिसकेनौँ र, लम्पसार बनेर आमाकै पाउमा परिरह्यौँ ।

तत्कालै बात्सल्यप्रेमले आमा पग्लिहालिन् । हाम्रो शिरमा थप्थपाइन् र एकै पटक उठाइन् । हाम्रा गाला मुसारिन् । म्वाइ खाइन् । आमाको कोमल स्पर्शले हामी सबैलाई आनन्द विभोर बनाइन् ।

भनिन्– म नारी हुँ । सन्तानप्रति कोमल हुनु मेरो स्वभाव हो । रातो सिन्दूर विजयको प्रतिक हो । अँझसम्म म विजयको सौभाग्यबाट बञ्चित रहेकी छु । सौभाग्यवती नारीले सिन्दूर लगाउनैपर्ने हुनाले सेतै लगाएकी छु । मेरो पराजयको मुख्य कारण तिमीहरूकै उच्छृङ्खल व्यवहार हो ।

श्रीजनता मावि, गोलबजार–४, सिरहा