एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन

  
दैनिक अभियान बिहिबार, असार ११, २०७७

हंसपुर । एमसीसी खारेजीकाको माग गर्दै आज युवाहरुले हंसपुरमा विरोध प्रदर्शन् गरेका छन् ।

एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी विरोधी युवा सञ्जालले आज दाङको बबई गाउँपालिका स्थित हंसपुरमा विरोध प्रदर्शन गरेको हो।

विभिन्न एमसीसीविरोधी नाराहरु सहित युवाहरुको उपस्थिति रहेको सो कार्यक्रममा वक्ताहरुले विकासको नाउँमा देशलाई थप पराधीन बनाउँने परियोजना खारेज हुनुपर्ने बताएका थिए ।

विरोध कार्यक्रममा बोल्दै अभियन्ता प्रमोद धितालले विद्युत निर्यात गर्ने नाउँमा नेपालको जलविद्युतलाई निजिकरणको दिशामा लैजाने र साम्राज्यवादी स्वार्थको ग्यारेन्टी गर्दै देशलाई थप पराधीन बनाउँने डिजाइन अन्तर्गत एमसीसी भित्रिएको बताए ।

साथै उनीले केहि सीमित व्यक्तिहरुका लागि एमसीसी बरदान भएपनि नेपालको सार्वभौमिकता र बहुसंख्यक जनताको लागि घातक भएकोले खारेज हुनुपर्ने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण विर बहादुर वलीले गरेका थिए । साथै अभियानको अर्को कार्यक्रम आगामी शनिबार शान्तिनगरको चिराघाटमा राखिएको छ ।