आएको थियो ऊ (कविता)

  
दैनिक अभियान शनिबार, असार ६, २०७७

सर्जक-सुशिला शाही, कोहलपुर, बाँके
आएको थियो ऊ
एकपटक आएको थियो ऊ
अझै याद छ मलाई
ऊ आएको सुटुक्कै
स्विकृतविना आएको
जनाउ घन्टि नबज्दै आएको
तर कुन्नि हतारमा रहेछ क्यारे
उसको स्वागतमा दीपावली जलाउन,रेड कार्पेट बिछ्याउन अनि माला उन्न नपाउदै
यि उत्तेजित र हतोत्साहित आँखाबाट एकैछिनमा बिलिन भएको ।
ऊ जाँदा ऊ गएको बाटोलाई निकैबेर पछ्याएका थिए यि प्रतिक्षारत र आशावादी नयनले,
हातमा दियो जलिसकेको थियो मनमा तरङ्ग ,
धिपधिप गरिरहेको एउटा सानो उज्यालोको छायामा दुरुस्तै थिए टिलपिल टिलपिल आँसु,
अनि बिचलित मन,मनभित्र ज्वारभाटा,
एकछिनका लागि जोडजोडले बजेको घन्टिको कम्पन
दियोमा तेल सकिदै थियो
उज्यालोको चमकता हराउँदै
नभन्दै त्यो कालरात्रि त्यो अन्धकार
छरपस्टै फिजियो यत्रतत्र सर्वत्र
रात छिप्पिँदै गयो,
सित झर्दै
त्यो रात
रातरातमा आउने निद्रा,
औडाहा र वेचैनका लागि धितो दिएँ
किनकी
फेरि पनि
चाहन्नथेँ म निद्रा आओस्
निद्रासँगै सपनिमा ऊ ,
अनि लालायित मन नैराश्यको पहाडबाट
घर्ल्याम्म धकेलियोस्
तल आएर बजारियोस्
टुटोस् अनि फुटोस्