व्यबसायीको कर छुट गर्न आग्रह

  
दैनिक अभियान शनिबार, जेष्ठ २४, २०७७

तुलसीपुर, २४ जेठ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले लकडाउन अवधिभरको कर छुट गर्न आग्रह गरेको छ । सरकारले असार ७ गते सम्ममा व्यवसायीहरुलाई कर तिर्न निर्देशन गरेपछि व्यवसायीहरुले यो अवस्थामा कर तिर्न नसक्ने भन्दै छुट गर्न माग गरेका हुन् । संघको शनिवार बसेको बैठकले घरबेटीहरुलाई घरबहाल करमा छुट गर्न, बैँक तथा वित्तीय संस्थाहरुलाई ब्याजकर छुट गर्न आग्रह समेत गरेको छ ।

संघका अध्यक्ष जनक प्रसाद खरालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीहरुको असहज अवस्थालाई सहज गराउन आवश्यक परेमा सहयोगको वातावरण निर्माण गर्न उपाध्यक्ष गोकर्ण गिरीको संयोजकत्वमा समिती समेत गठन गरेको छ ।

बैठकमा सहभागी व्यवसायीहरुले लामो समयसम्मको लकडाउनका कारण उद्योग व्यवसायमा ठुलो असर परेको बताएका छन् । सरकारले व्यवसायीका समस्यालाई वेवास्ता गर्दै करमा ताकेता लगाउँदा व्यवसायीहरु मर्कामा परेको उनिहरुको भनाई छ । उनिहरुले तोकेको समयमा कर तिर्न नसकिने दावि गरेका छन् ।

संघका सल्लाहकारहरु नेत्रलाल ओली, मोहन धिताल, टिकाराम रोका, होम प्रकाश गौतम लगायतकाले व्यवसायीहरुलाई परेको समस्याका बारेमा संघले पहल गर्नुपर्ने बताएका थिए ।

व्यवसायी ऋषि भण्डारीले कोरोना कहर विच बजार खोल्नु तत्कालका लागि समस्या भएको बताए । संघका उपाध्यक्ष गिरीले व्यवसायीका सामाधानमा सबै एकजुट भएर लाग्नु पर्ने बताए । बैँक ब्याज छुटका लागि पहल गर्नुका साथै ठुला व्यसायिहरुलाई न्युनतम ब्याजको पहल गर्ने र एकआपसमा समन्वय बढाउनु पर्नेमा जोड दिए ।

बैठकमा व्यवसायी नविन बुढाथोकि, प्रमोद बस्नेत, धर्मेन्द्र वैश्यले संघले विपद व्यवस्थापन र बजार व्यवस्थापनमा ठोस निर्णय लिनुपर्ने बताएका थिए । बैठकको सञ्चालन संघका महासचिव झलक केसीले गरेका थिए ।