आलेख : कोरोनाको कारण तरकारी किसानलाई सकस

  
दैनिक अभियान शुक्रबार, जेष्ठ २३, २०७७

रीता लामा

घोराही, २३ जेठ(रासस)ः गडवा गाउँपालिका ६ बालापुरकी कुमारी चौधरीले राप्तीको बगर छेउमा करिव एक विगाहा क्षेत्रफलमा रोपेको तरबुजा लटरसम्म फलेको छ । बर्षौ देखि तरकारी उत्पादन गर्दै आउनुभएकी कुमारीको बारीमा भिन्डी, लौका, करेला पनि लटरम्मै छ ।
तर बन्दाबन्दी(लकडाउन)को कारण उहाँहरुलाई सजिलै बजारसम्म तरकारी ल्याउन मुस्किल भएको छ । लमही, भालुवाङ र घोराहीको बजारसम्म आफै तरकारी बेच्न आउने कुमारी अहिले पनि आउनुहुन्छ तर घोराहीसम्म आउन र बेच्नै मुस्किल छ ।
‘पहिले एक सय रुपैँया भाडा तिरेर घोराहीमा आएर तरकारी विक्री गर्थे । दैनिक दुई हजार देखि तीन हजारसम्म कमाई हुन्थ्यो तर अहिले घोराहीसम्म आउन गाडी सिजर्भ गर्नुपर्छ । तरकारी बेचेको सबै पैसा सकिन्छ ।’ उहाँले भन्नुभयो ‘गढवाबाट घोराही आउन मात्रै गाडीलाई तीन हजार तिर्नुपर्छ ।’ अन्य साना बजारको तुलनामा घोराहीमा तरकारीको मुल्य राम्रो पर्ने भए पछि उहाँहरु घोराही आउनुहुन्छ । तर विक्रीको लागि वातावरण सहज छैन ।
जिल्ला प्रसासन कार्यालय दाङले हप्ताको तीन दिन आइतवार, मंगलवार र शुक्रवार तरकारी लगायतको अत्यावश्यक वस्तु खरिदविक्रीका लागि भन्दै बजार खुला गरेको छ । सोही समयको मौका छोपेर स्थानिय किसानहरुले बजारसम्म तरकारी ल्याउनछन् । छिटुवा र डोकोमा तरकारी बेच्न आउने किसानलाई सडकमा खटिएका सुरक्षाकर्मीले गाली गर्ने, हप्काउने गरेको उहाँहरु सुनाउनुहन्छ ।
घोराही उपमहानपगर कै दक्षिण भेगमा पर्ने धर्ना ५ नैनवारकी सुकमती चौधरीले पनि सदा झै बारीमा लटरम्म तरकारी फलाउनु भएको छ । काक्रा, लौका, करेला बारीभरी फलेको छ । हप्ताको तीन दिन विहान वजार खुल्ने समयमा बजारसम्म तरकारी ल्याउनुहुन्छ । तर ५० रुपैँया भाडा लाग्ने बाटोमा टेम्पुले पाँच सय रुपैँया लिन्छन् ।
‘पहिले ५० रुपैँया मै घोराही आउथ्यौ । अहिले त पाँच सय भन्छन् । तै पनि वारीमा तरकारी कुहाउनु मन लाग्दैन, बोकेर बजार आउछौ ।’
सहकारीलाई सवारी समस्या
त्यसो त दाङको देउखुरी क्षेत्र र घोराही आसपासका धेरै स्थानमा बाह्रै महिना तरकारी उत्पादन हुने गरेका छन् । त्यसमा पनि सामुहिक रुप कृषि सहकारी संचालन गरेर उत्पादन गर्नेहरु पनि धेरै छन् ।
सहकारीको आफ्नै सवारी भएकाले आफ्नै सवारी साधनको प्रयोग गरेर तरकारी विक्री गरिरहेका छन् । तर साधन नभएका सहकारी भने सवारीको चर्को मुल्य र विचौलियाका शोषणमा परेका छन् ।
घोराही उमहानगरपालिका ३ झिङनीमा रहेको सुुधार सामाजिक उद्यमी सहकारी संस्थाका भोजराज चौधरी बजार नजिकै भएर पनि बन्दाबन्दीको कारण आफुहरु विचौलियाको मारमा परेको बताउनुहन्छ ।
उहाँहरुको सहकारीमा आवद्ध करिव २५० सय कृषकहरुले अहिले तरकारी उत्पादन गरिरहेका छन् । उहाँले भन्नुभयो ‘सहकारी मार्फत सयौ विगाहा जग्गामा आलुु, काक्रा, प्याज लसुन रोपेकाछौ । आफै बजार लैजाउ सवारी छैन । व्यापारीलाई दिउ मुल्य दिदैनन् ।’
केही दिन अघि आफुहरुले भोगेको पिडा सुनाउदै उहाँले भन्नुुभयो ‘काक्रा लिन आउदैछौ प्रति किलो १५ रुपैँया बारी मै दिन्छौ भनेर काक्रा टिप्न लगाए । हामीले करिव दुुई सय किलो काक्रा टिपेर थुपार्यौ तर लैजाने वेलामा प्रतिकिलो चार देखि छ रुपैँया भन्दा बढी दिन नसक्ने जिकिर गरे । त्यसपछि हामीले बरु गाईवस्तुलाई खुवाउछौ दिदैनौ भनेर व्यापारीलाई काक्रा दिएनौ ।’ तर सोही समयमा घोराहीमा काक्रा प्रतिकिलो ४० देखि ६० रुपैँयासम्म विक्री हुदै आएको उहाँले सुनाउनुुभयो ।
उहाँहरु जस्तै घोराही १३ ज्यामिरेमा करिव साढे ३ सय कृषकहरुले सहकारीमा आवद्ध भएर सामुुहिक रुपमा टमाटर, लौका, आलुु, काक्रा खेती गरिरहेका छन् । तर उनीहरुलाई पनि बजारसम्म ल्याएर आफ्नो उत्पादन विक्री गर्न गाह्रो भैरहेको बताउछन् ।
दाङको देउखुरीमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारीसँग भने आफ्नै भ्यान छ जसको कारण सहकारीमा आवद्ध किसानले उत्पादन गरेको तरकारीजन्यवस्तु सहकारीको भ्यान मार्फत विक्री भैरहेको छ । त्यहाँका अन्य कृषकहरुलाई भने यो सुविधा छैन ।
लमही नगरपालिका वडा नम्वर ९ मा रहेको कर्मठ सहकारीमा अहिले करिव ११ सय किसानले तरकारी उत्पादन गरिरहेका छन् । यस्तै लमही वडा नम्वर १ कै सुनडवरीमा रहेको निकमल सहकारीमा पनि ११ सय किसान परिवार तरकारी खेतीमा आवद्ध छन् । लमही २मा रहेको समुुन्ती महिला सहकारीमा छ सय र सतवरियामा रहेको दिपन सहकारीमा आवद्ध सात सय बढी महिलाहरुले सहकारीमा आवद्ध भएर खसीबोका, दुध र तरकारीजन्य वस्तुहरु उत्पादन गरिरहेका छन् । तर त्यसले पनि बजार पाउन नसकेको किसानले बताउदै आएका छन् ।
देउखुुरीमा ठुलो बजार नहुदाँ त्यहाँ किसानहरुले जिल्ला बाहिर वा घोराही, तुलसीपुर कै बजार भर पर्नुपर्छ । बन्दाबन्दीको कारण यातायातको सुुविधा नहुदाँ किसानले सहजै तरकारी बजारसम्म ल्याउन सकेका छैनन । जसको कारण तरकारी किसान मर्कामा परेका छन् ।
घोराहीमा रहेको कृषि उपज बजार संचालक समितिका अध्यक्ष गुलाम रसुल प्रशासनले हप्ताको तीन दिन तरकारी विक्री गर्ने समय दिएको हुदाँ त्यस अवधीमा कुनै पनि रोकतोक भए आफुहलाई खवर गर्न आग्रह गर्नुहुन्छ । स्थानिय किसानको तरकारीलाई सहज बजारसम्म आउन दिने वातावरण बनाउन प्रशासनलाई भनेका छौ प्रशासनले पनि छुट दिएको उहाँले बताउनुुहुन्छ ।
स्थानिय उत्पादन प्रसस्त
बन्दाबन्दी पछि दाङमा भारतिय र जिल्ला बाहिरको तरकारी पुर्ण रुपमा बन्द गरिएको छ । अहिले स्थानिय उत्पादनले नै बजार धानिरहेको छ । अन्य जिल्लाको तुलनामा घोराही आसपास र देउखुरी क्षेत्रमा धेरै तरकारी उत्पादन हुने गरेको यहाँका तरकारी व्यवसायी बताउछन् । सोही कारण पनि यहाँको बजारलाई स्थानिय उत्पादनको तरकारीले नै प्रशस्त पुगेको छ ।
कृषि उपज समितिका अध्यक्ष गुलाम रसुल पहिले विचौलियाहरुले छिमेकी मुलुक भारतबाट तरकारी ल्याउने र जिल्लाको उत्पादन बाहिर पठाउन हुदाँ उपभोक्तालाई तरकारीको मुल्य धेरै पर्ने गरे पनि अहिले बजारमा तरकारीको मुल्य समायोजन भएको बताउनुहुन्छ । पहिले दाङमा प्रयोग हुने आलु ९० प्रतिशत भारतबाट आउथ्यो तर अहिले यही वरिपरिकै किसानले उत्पादन गरेको आलु विक्री भैरहेको छ । निकै सस्तो मुल्यमा स्थानिय उत्पादनको ताजा तरकारी अहिले उपभोक्ताले पाइरहेका छन् । लकडाउन पछि दाङमा अन्य जिल्लाबाट तरकारी भित्रयाउनु पर्ने आवश्यकता छैन भन्ने प्रमाणीत भएको उहाँको भनाई छ ।
स्थानिय प्रशानसले घोराहीमा संचालनमा रहेको तरकारी बजार पनि अहिले बन्द गरेको छ । हप्ताको तीन दिन विहानको समयमा मात्रै अन्य किराना पसलसँगै तरकारी बजार पनि खोल्न दिइएको छ । जसको कारण बजार आसपासमा रहेर तरकारी खेति गरिरहेको किसानले आफै छिटुवा, डोकोमा बोकेर उपभोक्ताको घरघरमा तरकारी पु¥याईरहेका छन् ।
किसान र उपभोक्ताबीच सहजिकरण
तरकारी किसानबाट विचौलियाले दुख दिएको भन्ने धेरै गुनासो आए पछि केहीदिन यता घोराहीमा रहेको ग्रामीण महिला उत्थान केन्द्र नामक एक गैरसरकारी संस्थाले किसानले घरबाट ल्याएको तरकारी संस्था कै प्राङ्गणमा राखेर विक्री गर्ने वातावरण मिलाइदिएको छ ।
केन्द्रकी सहकारी सहजकर्ता पावती वस्नेत बजारीया व्यापारीबाट किसानहरु मर्कामा परेको गुनासो आए पछि आफुहरुले किसान र उपभोक्ता बीच सहजिकरणको गरिदिएको बताउनुुभयो ।
‘हाम्रो संस्थाको प्राङ्गणसम्म किसानहरुले तरकारी ल्याउनुहुन्छ । अनि हामीले फोन र सामाजिक संजालको उपयोग गरेर उपभाक्तालाई किसानको हातबाटै तरकारी किन्ने वातावरण मिलाएका छौ ।’ उहाँले भन्नुुभयो ‘हप्ताको तीन दिनमात्रै विहानको समयमा प्रशासनले तरकारी बजारसम्म ल्याउन दिएको छ । तर बाटोमा सुरक्षाकर्मीबाट किसानलाई रोकतोक भैरहेको छ ।’
उद्योग बाणिज्य संघ असफल
बन्दाबन्दी सुरु भए पछि तरकारी बजार पनि बन्द गरिए पछि उद्योग बाणिज्य संघ दाङले घोराहीमा ‘तरकारीको होम डेलिभरी सेवा’ सुरु गरेको थियो । तरकारी व्यापारीलाई पालैपालो किसानको बारीबाट तरकारी ल्याउने र गाडी मार्फत उपभोक्ताको घरघरसम्म पु¥याउने व्यवस्था गरिएको थियो ।
तर होम डेलिभरी सेवाको नाममा किसान उपभोक्ता बीचको मुल्यको दुरी बढेको गुनासो बढे पछि उद्योग बाणिज्य संघले तरकारीको ‘होमडेलभरी’ १५ दिन पनि संचालन गर्न सकेन ।
जसको कारण उद्योगबाणिज्य संघले सबैतिरबाट आलोचना समेत खेपेको थियो । उद्योग बाणिज्य संघका तरकारी संयोजक तोकिनुभएका रामप्रसाद पोख्रेल भन्नुहुन्छ ’हामीले उपभोक्ताई सहजहोस भनेर घरघरसम्म तरकारी लैजान त भन्यौ तर लागत धेरै देखाएर तरकारी व्यापारीले ठग्ने काम गरे । अनि हामी पछाडी हटेका हौ ।’

युवाहरुको अनलाईन सेवा
यहाँका तरकारी व्यवसायीले किसान र उपभोक्ता बीचको मुल्य असहज गरेको गुनासो बढे पछि यहाँका केही युवाहरुले उज्यालो विहानी फाउन्डेशन मार्फत अहिले किसानको बारीबाट तरकारी ल्याएर मुनाफा रहित उपभोक्ताको भान्छासम्म पु¥याउने काम गरिरहेका छन् । यहाँका केही मनकारी व्यक्तीहरुबाट आर्थिक सहयोग जुटाएर उनीहरुले किसानको बारीमा पाएकै मुल्यमा उपभोक्तालाई तरकारी उपलब्ध गराएका हुन् ।