बैदेशिक रोजगारको पिडा : काम छैन, घर आउन पनि मिल्दैन

  
दैनिक अभियान मङ्लबार, जेष्ठ २०, २०७७

रीता लामा
घोराही, २० जेठ । गत असारमा वैदेशिक रोजगारको शिलशिलामा युुएई पुुग्नुुभएका ३८ बर्षिय शेखरप्रसाद भुसालको गत जेठ ५ गते कोरोनाको कारण मृत्युभयो । घोराही १५ मनकामना टोल स्थायी वसोवास भएका भुुसालको घरमा बृद्ध वुवाआमा हुनुुहुन्छ ।

७२ बर्षिय मनिराम भुुसाल र उहाँको श्रीमती, छोरोको मृत्यु पछिले वेहाल अवस्थामा हुनुहुन्छ । अघिल्लो बर्ष जवान छोरीको मृत्युु भोगेका भुसाल दम्पत्तीलाई यसबर्ष छोरा गुमाउनुको पिडा सहनुुपरेको छ । भएको एक मात्र छोराको मृत्युपछि भुसाल दम्पत्ती सन्तान विहिन बन्नुभएको छ ।

सरकारले अन्तराष्ट्रिय उडान रोकेको उहाँहरु छोराको शव नेपाल ल्याउने आशा गर्नुभएको छैन तर उतै व्यवस्थित दाहसंस्कार होस् भन्ने चाहाना राख्नुुभएको छ । मृतक शेखरका ठुुलो वुुवाको छोरा गोपाल भुसाल कतै जेष्ठ बुुवाआमालाई न्याय पाइन्छकी भन्ने आशमा आफुहरु भौतारिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘सरकारले विदेश मै दाहसंस्कार गरे नेपालमा रहेको परिवारलाई ५० हजार क्षतिपुर्ति दिने भन्ने सुनेको छु तर कहाँ गएर त्यो पाइन्छ भन्ने जानकारी छैन ।’

घोराही १७ का मनिराम भण्डारी र सावित्रा भण्डारीका दुवै छोरा दुवईमा हुनुहुन्छ । होटेलमा काम गर्ने छोराहरु तीन महिना देखि काम विहिन भएको उहाँहरुलाई खवर आएको छ । काम विहिन बनेसँगै छोराहरुले नियमित पठाउने घर खर्च पनि रोकिएको छ । उहाँहरुलाई खर्च भन्दा पनि छिट्टै छोराहरुको मुख हेर्न पाए हुन्थ्यो भन्ने अपेक्षाले सताएको छ ।

भण्डारी दम्पती भन्नुहुन्छ ‘तीन महिना देखि दुवै छोराहरु कोठामा थुनिएर बसेका छन् भन्ने सुनेको छौ । उनीहरुलाई घर फर्काउन सरकारले सहयोग गरे कति जाति हुन्थ्यो ।’

साउदी अरवको कुरेश भन्ने ठाउँमा रहेको एउटा कम्पनीमा कार्यरत आठ जना नेपालीको एक महिनाको तलव अर्कैले खाइदिएको छ । साउदी कै अर्को शहरको कम्पनीमा काम गर्ने एक जना नेपाली साथीहरु भेट्न भन्दै कुुरेशमा रहेको कम्पनीमा आएका थिए । कोरोनाको कारण भएको लकडाउनको फाइदा उठाउदै ती व्यक्तीले बैंकबाट पैसा निकाल्ने भन्दै सबैबाट चेक जम्मा गरेर हिडेका थिए ।

‘सबैतिर बन्द छ म पैसा निकालिदिन्छु भन्दै आठ जना नेपालको चेक बोकेर अघिल्लो महिना हिडेका ती व्यक्ती अझै फर्केका छैनन ।’ पीडित विमलले भन्नुभयो ‘त्यो विषयमा कम्पनीका प्रमुखहरुले वेवास्ता गरेका छन् भने धेरै होहल्ला नगर्न दवाव पनि दिएका छन् ।’

मलेसियाको सलेङ्गुर प्रान्तको शाहआलम भन्ने ठाउँको पानासोनिक कम्पनीमा कार्यरत २० जना नेपाली तीन महिना देखि काम विहिन भएका छन् । कोरोना सुरु भएसँगै उनीहरुलाई कम्पनीले काम विहिन बनाएको थियो । इलेक्ट्रिक सामाग्री उत्पादन गर्ने उक्त कम्पनीमा विगत तीन महिना देखि कामबाट निकालीएका उनीहरुले अहिले एकै ठाउँमा दिनरात काटिरहेका छन् ।

दाङ स्थायी घर भएका विजय धितालले दिएको जानकारी अनुसार त्यहाँ एक जना गर्भवती सहित १३ जना महिला र सात जना पुरुषहरु रहेका छन् । कम्पनीले घर पठाउन टिकट काटिदिएको भए पनि नेपालमा अन्तराष्ट्रिय उडान बन्द गरेपछि आफुहरु अलपत्र अवस्थामा मलेसियामा रोकिएको उहाँले बताउनुभयो ।

नेपाल फर्किने खर्च मात्रै नभएर त्यहाँ क्वारेन्टिनमा लाग्ने खर्च समेत व्यहोर्न आफुहरु तयार भएको उहाँ बताउनुहुन्छ । साँझ र विहानको दुई छाक खान भने कम्पनीले दिइरहेको उहाँले जानकारी गराउनुभयो ।

कोरोना कै कारण बैदेशिक रोजगारमा रहेका धेरै नेपालीहरुले कामबाट हात धुनुपरेको छ । त्यसमा पनि दैनिक १८ घण्टासम्म काम गर्नुपर्ने, भनेको काम र दाम नपाउने, सीप र भाषाको कमीले हिंसा भोग्नुपर्ने, पासपोर्ट रोजगारदाताले कव्जा गर्ने, मानसिक तथा शारिरीक शोषण जस्ता समस्या भोगिरहेका छन् । नेपालले अन्तराष्ट्रिय उडान रोकेको हुदाँ करार अवधी सकिएका धेरै नेपालीहरु घर फर्कन नपाएर अलत्र अवस्थामा छन् ।

वैदेशिक रोजगारमा पुगेका नेपाली मध्य दैनिक आठ सय देखि एक हजार जनासम्मको करार अवधी सकिने गरेको पिपुल्स फोरमका सहजकर्ता सोहम लुइटेल बताउनुहुन्छ । ‘कति नेपालीलाई जागिरबाट निकालिएको छ । उनीहरुको खानेबस्नेको टुङ्गो छैन ।’ उहाँले भन्नुभयो ‘सरकारले विमान खर्च र क्वारेन्टिनमा लाग्ने खर्च उनीहरुलाई वेहोर्न लगाएर भएपनि नेपालीहरुलाई देशमा भित्राउनुपर्छ ।’

वैदेशिक रोजगारमा पुगेका नेपालीहरुलाई क्रमशः नेपाल नफर्काए पछि अन्तरािष्ट्रय उडान खुल्ने वित्तीकै नेपाल थामी नसक्नुको भिड बढ्ने उहाँको अनुमान छ ।

वैदेशिक रोजगारसँग जोडिएका व्यक्ती र उनीहरुको परिवारलाई न्यायको लागि पैरवीको काम गर्दै आइरहेको सुरक्षित आप्रवासन परियोजना सामीकी जिल्ला संयोजक वसन्ता पुनका अनुसार कोरोना पछि वैदेशिक रोजगारसँग जोडिएका घटनाहरु न्यायको लागि सुचना केन्द्रमा आउने गरेको छ । उहाँले वैदेशिक रोजगारसँग जोडिएर भएका घटनालाई न्यायको लागि आफुहरुले पिपुल्स फोरम, बैदेशिक रोजगार विभाग, पिएनसीसीलगायतको संस्थाहरुसँग समन्वय गरेर न्यायको लागि पहल गरिरहेको जानकारी दिनुभयो । लकडाउनकै अवधीमा करिव ७० वटा वैदेशिक रोजगारसँग जोडिएको उजुरी सामीमा आइपुगेको उहाँले जानकारी दिनुभयो ।

‘कोभिड कै कारण धेरै वैदेशिक रोजगारमा रहेका र तीनको परिवारले अलपत्र परेको, काम विहिन बनेको र विदेश मै कोरोना वा अन्य कारणले मृत्यु भएको भन्ने गुनासो आएको छ ।’ उहाँले भन्नुभयो ‘सोही कारण कडाउन सुरु भएयता सामी परियोजनाले रोजगारीको शिलशिलामा विदेशमा रहेकाका परिवारका सदस्यहरुलाई फोनबाटै मनोसामाजिक परामर्श दिन थालेका छौ ।’

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकारको आर्थिक सहयोगमा दाङका चार वटा स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजनामा वैदेशिक रोजगारसँग जोडिएका परिवारलाई परामर्शको काम पनि संचालन भैरहेको छ । अपांग मानव अधिकार एवम् सरोकार केन्द्रले उक्त कार्यक्रम व्यवस्थापन गरिरहेको छ । जस अन्तर्गत बैदेशिक रोजगारसँग जोडिएकाको आफन्तलाई परामर्श दिने कार्य अहिले पनि जारी छ ।

विदेशमा रहेकाहरुको स्वास्थ्य, कामको अवस्था, कोरोनाले पारेको प्रभाव आदिबारे पनि परिवारका सदस्यसँग बुझ्ने र आवश्यक सहयोग, समन्वय गर्ने कार्य भइरहेको मनोपरामर्शको कार्य गरिरहनुभएकी मनोपरामर्शकर्ता सुसिला आचार्यले बताउनुहुन्छ । कोरोना भाइरसको महामारी कै कारण विदेशमा रहेकाहरुको आफन्त चिन्ताले मानसिक असर पर्न नदिन फोनबाट मनोपरामर्श दिने गरिएको उहाँले बताउनुभयो ।

विदेशमा अफ्ठेरामा परेकाहरुका परिवारका सदस्यमा पनि मानसिक प्रभाव पर्ने भएकाले उनीहरुलाई पनि परामर्श उपलब्ध गराउने गरिएको उहाँको भनाई छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन लागू गरिएको लकडाउनयता जिल्लाका चार वटा पालिकाहरु घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र ववई गाउँपालिकामा एकएक जना मनोपरार्शकर्ताले परामर्शको काम गरिरहे उहाँको भनाई छ ।
विशेषगरी विदेशमा आफन्त हुदाँ यहाँ परिवारका सदस्यमा पर्नको मानसिक तनावलाई कम गर्न उनीहरुको पीडा सुन्ने गरेको काम भैरहेको मनोपरामर्शकर्ता आचार्यको भनाई छ ।

‘यहाँ परिवारको दैनिक अवस्था, विदेशमा रहेका आफन्तको अवस्था जानकारी लिने काम भैरहेको छ ।’ उहाँले भन्नुभयो ‘यस्तो सन्त्रासको समयमा उनीहरुको परिवारका सदस्यहरुको मनमा उत्पन्न हुने असहज अवस्थालाई कम गर्न प्राथमिक मनोशिक्षा दिने काम भैरहेको छ ।’ त्योसँगै अहिले चलिरहेको कारोनाको बारेमा पनि परिवारलाई प्रष्ट्याउने, नेपाल सरकारले गरेका पहलहरुको बारेमा जानकारी दिने काम भैरहेका उहाँको भनाई छ ।

परियोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङमा सुरक्षित आप्रवासन सुचना केन्द्र स्थापना गरेर परामर्शको काम भैरहेको र लकडाउन पछि राहदानी बनाएर फर्किएकालाई सुरक्षित वैदेशिक रोजगार बारे जानकारी दिने, कोरोनाको कारण वैदेशि रोजगारमा भैरहेको गतिविधिबारे फोनबाट जानकारी दिने पनि गरिएको छ ।

वैदेशिक रोजगारसँग जोडिएर काम गर्दै आएको हेल्भिटास नेपालका अनुसार विश्वमा कोरोना महामारी नआउदै नेपालबाट दैनिक १२ देखि १५ सय व्यक्ती वैदेशिक रोजगारको लागि देश छोड्ने गरेका थिए । वैदेशिक रोजगारका जाने संख्यामा दाङ देशैभर मै ११औँ स्थानमा छ भने प्रदेश ५ मध्य रुपन्देही पछि दोस्रो स्थानमा छ ।

नेपाल सरकारले विश्वका एक सय १० देशमा वैदेशिक रोजगारको लागि इजाजत दिएको छ । त्यसमध्य इराक, अफ्गान्स्थान, सिरिया र लिविया भन्ने देशलाई वैदेशिक रोजगारको लागि रोक्का गरिएको छ । तर पनि भारतको बाटो हुदै धेरै नेपालीहरु त्यहाँ पुगेको सुन्नमा आउछ । सुरक्षित आप्रवासन परियोजनाका अनुसार जिल्लामा बार्षिक करिव पाँच देखि सात हजार जनाले वैदेशिक रोजगारको लागि राहदानी बनाउने गरेका छन् । दाङबाट भारत बाहेक तेस्रो मुलकमा करिव ५० हजार नागरिक रहेको सामीको अनुमान छ ।

नेपालमा जव ससस्त्र द्वन्द्वको सुरु भयो त्यसयता वैदेशिक रोजगारमा जानेहरुको लर्को लागेको देखिन्छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत वैदेशिक रोजगार विभागको वेव साइटमा उल्लेख भए अनुसार नेपालमा वि.स २०५२ देखि

२०७५/७६सम्म आइपुग्दा ५१ लाख ९९ हजार ४४ जना नेपालीहरुले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा पुगेको छन् । जसमा ४९ लाख ९४ हजार ६ सय ७२ पुरुष छन् भने दुई लाख चार हजार तीन सय ७२ महिला छन् । जानकारहरुका अनुसार सोही नै संख्यामा धेरै नेपालीहरु कामको सिलसिलामा भारत पुगेका छन् । भने भारतको बाटो हुदै वैदेशिक रोजगारमा पनि पुगेका छन् ।

वैदेशिक रोजगारको लागि अहिले कुन देशमा कति नेपाली छन् भन्ने कुनै तथ्यांक छैन तर वैदेशिक रोजगार विभागको सहयोगमा त्यहाँ रहेका दुतावसहरुले कोभिड पछि तथ्याङ्क संकलनको कार्य थालेको बताइएको छ ।

कोरोनाबाट सिर्जित संकटमा परेकालाई स्वदेश फर्काउन सरकारमाथि चौतर्फी दबाब परेपछि सरकारले तयारी सुरु गरेको जनाएको छ । गत जेठ ४ गरे बसेको मन्त्रिपरिषद बैठकमा नेपालीलाई फर्काउने विषयले प्रवेश पाएको थियो ।

सो अवसरमा विदेशबाट नेपाली ल्याउँदा खान, बस्न समस्या भएका, गर्भवती महिला, तथा आफन्तको निधन भएर पनि लकडाउनका कारण काजकिरियामा आउन नपाएका, विदेशमा अवैध रुपमा रहेर आममाफी पाएका, रोजगारी गुमाएर अलपत्र परेकाहरुलाई विशेष प्राथमिकता दिने बताइएको थियो ।