यसरी भित्रियो दाङमा कोरोना (हेर्नुहोस तथ्य)

  
दैनिक अभियान आइतवार, जेष्ठ ४, २०७७

तुलसीपुर, ३ जेठ ।
दाङमा शुक्रबार पहिलो पटक दुईजनामा कोरोना संक्रमण देखियो । गढवा गाउँपालिका वडा नं. ४ का २३ र वडा नं. ५ का ३६ बर्षीय पुरुषमा पहिलो पटक संक्रमण देखिएको हो । उनीहरु दुवैजना भारतबाट आएको गढवा गाउँपालिकाका प्रमुख सहजराम यादवले बताए ।

उनका अनुसार वडा नं. ४ का संक्रमित गोरखपुरबाट र वडा नं. ५ का संक्रमित मुम्वैबाट आएका हुन् ।“वैशाख २५÷२६ गतेतिर उहाँहरु कृष्णनगर क्वारेन्टाईनमा आउनु भएको थियो, त्यहाँ ५÷६ दिन बस्नु भयो”, उनले भने “ त्यसपछि उहाँहरुलाई वडा नं. ३ का अध्यक्षले पास बनाएपछि ३१ गते दाङ ल्याएका हौं ।”

उनीहरु पाँच जना थिए । गंगापरस्पुर स्वास्थ्य चौकीको एम्बुलेन्समा कृष्णनगरबाट दाङ ल्याईएका उनीहरुमध्ये २ जना बम्वै, दुईजना गोरखपुर र अन्य एक जना भने कुन ठाउँबाट आएका हुन्, त्यो पत्ता लाग्न नसकेको गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले बताए ।

उनका अनुसार ति मध्ये चारजना गढवाकै रहेका छन् । गढवाका ४ जना मध्ये दुईजनामा कोरोना संक्रमण भेटिएको र अन्य दुईजनामा कोरोना संक्रमण नदेखिएको उनले बताए । अन्य एकजना भने कालाकाटेबाट घोराही तर्फ गएको योगीको भनाई छ ।

गढवा क्वारेन्टाइनमा ल्याएको अर्को दिन उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय दाङले लमहीमा स्वाब संकलन गरेको हो । लमहीमा स्वाब संकलन गर्न गढवाबाट उनीहरुलाई लमही लैजादा गढवा उद्योग बाणिज्य संघको एम्बुलेन्स प्रयोग गरिएको थियो । उनीहरुलाई ओसार–पसारमा प्रयोग गरिएका दुईवटै एम्बुलेन्सका चालकलाई पनि क्वारन्टाइनमा राखिएको छ ।

दुईजना संक्रमितसंगै गढवाका ४ जनालाई कृष्णनगर क्वारेन्टाइनबाट सिधै गढवाको क्वारेन्टाईनमा राखेको र घरपरिवारसंग सम्पर्क नगराएकाले डराउनु पर्ने अबस्था नरहेको उनको भनाई छ ।“हामीले कृष्णनगर क्वारेन्टाइनबाट सिधै गढवाको क्वारेन्टाइनमा राख्यौं, घर परिवार, आफन्त कसैलाई पनि सम्पर्कमा रहन दिएनौं” उनले भने “ त्यसैले पनि डराउनु पर्ने अबस्था छैन् ।”

संक्रमित दुइजनालाई बेलझुण्डी पठाइयो

दाङको गढवामा भेटिएका कोरोना संक्रमितलाई बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा पठाईएको छ । उनीहरुलाई शुक्रबार साँझ पठाईएको हो । यो संगै बेलझुण्डी अस्पतालमा कोरोना संक्रमितको सख्ंया १० रहेको छ ।

शुक्रबार नै बाँकेको नरैनापुरबाट ८ जना कोरोना संक्रमितलाई दाङको बेलझुण्डी अस्पतालमा ल्याईएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।

टो–टोलमा सिल

वडामा कोरोना संक्रमित भएपछि अहिले टोल–टोलमा सिल गर्न थालिएको वडा नं. ४ का अध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले बताए । “ संक्रमितसंग घरपरिवारको सम्पर्क भने भएको छैन”, उनले भने “ तर पनि हामीले सजकता अपनाएका छौं, सबै टोल–टोलमा नाका सिल गर्न थालेका छौं ।”