कालापानिमा सिमा सुरक्षा पोष्ट स्थापना, ६ महिनामा २५ बाट १६० संख्या पु¥याइने

  
दैनिक अभियान बिहिबार, जेष्ठ १, २०७७

दार्चुला । सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका १ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा आज बीओपी स्थापना गरिएको हो ।

लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु पुगेको छ । सशस्त्र प्रहरी टोली बुधबार बिहान काठमाडौंबाट सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेको थियो ।

केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो ।

त्यसपछि चौतर्फी विरोध भएपछि नेपालतर्फबाट सुरक्षा बल त्यसतर्फ पठाइएको छ । सीमा निगरानीका लागि प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा छाङरुमा २५ जना सशस्त्र प्रहरी बलको टोली पुगेको छ ।

सरकारले गत मङ्सिरमा नै त्यहाँ सुरक्षा बल राख्ने निर्णय गरेको भए पनि अहिलेसम्म स्थापना हुनसकेको थिएन । छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा छ । स्थानीय एक व्यक्तिको घर भाडामा लिएर सुरक्षाकर्मी बस्ने तत्कालको व्यवस्था गरिएको छ ।

अहिलेका लागि २५ जना नेपाली सुरक्षा वल त्यहाँ खटिने छन् भने ६ महिनामा संख्या थपेर १ सय ६० पु¥याउने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताएका छन् ।

यता, सीमा सुरक्षाको प्रमुख जिम्मेवारी भनिए पनि सशस्त्र प्रहरी बललाई नेता र भिआइपिको सेवा र सुरक्षामा अल्झाउने काम राजनीतिक नेतृत्वबाटै भएको छ । ३७ हजार बढी जनशक्ति रहेको सशस्त्र प्रहरी बलको १५ प्रतिशत संख्या मात्रै सीमा सुरक्षामा खटिएको तथ्यांकले देखाउँछ ।

८५ प्रतिशत जनशक्तिलाई अन्य काममा खटाइएको छ । सीमा सुरक्षामा कमजोर उपस्थितिकै कारण भारतीय पक्षबाट सीमा मिच्नेदेखि सीमा क्षेत्रका नेपाली माथि थिचोमिचो हुने गरेको छ ।

कुल एक हजार आठ सय ८० किलोमिटर लामो खुला सिमानामा भारतले लगातार अतिक्रमण बढाउँदा निगरानी गर्न नेपालले पर्याप्त जनशक्ति खटाउन सकेको छैन । भारतले प्रत्येक तीन किलोमिटरमा बोर्डर आउट पोस्ट (बिओपी) राख्दा नेपालले १५ किलोमिटरको अन्तरमा मात्र यस्ता पोस्ट राखेको छ ।