थारुहरुको होली अर्थात ढुह्रेरी

  
दैनिक अभियान मङ्लबार, फाल्गुन २७, २०७६

दिप्तीशिखा चौधरी
थारु समुदायको पर्व मध्य होली अर्थात ढुह्रेरी पर्व एक महत्वपूर्ण चाड हो । फागुन महिनाको शुल्कपक्षको पूर्णिमालाई डङ्गौरा थारुहरुले ढुह्रेरी भन्ने चाडको रुपमा मनाउँने गर्दछन् । यसलाई ढुह्रेरी अर्थात होली अर्थात फागु पूर्णिमा पनि भन्ने गरिन्छ । यस दिन थारु गरढु¥याहरु मटावाँको घरमा बिहानै जम्मा हुन्छन् । मटाँवाकी श्रीमतीले तोरीको तेल, चामलको पिठो,कह्राई दिन्छिन् । गरडु¥याहरु छायाँदार ठाउँमा जान्छन् । चामलको पिठोको “झझ्रा” नामक रोटि पकाउँछन् । यौ पर्वमा एक प्रकारको रोटी मात्र पकाउने गरेको थारु अगुवाहरुको भनाई छ ।

 

जव साँझ पर्छ गरढु¥याहरु र केटाहरु सिमलको सानो बोट काटेर ल्याउँछन् । सिमलको बोट काट्नु भन्दा पहिले “सेम्रक ढ्वाटा फुल गै र,े फुल गै रे, उप्पर लाग टेम्हरी, टेम्हरी ” जस्ता वाक्यांस भट्याउँछन् , मादल बजाँउछन् , घण्ट बजाउँछन् र सिमलको बोटलाई भुइँमा खस्न नदिएर समाईन्छ । त्यसलाई गाउँ देखि अली टाढा एक ठाउँमा गाडिन्छ । त्यसमाथि खर ओढाईन्छ । गन्यारी नामक काठमा त्यसको हाँगाले प्वाल पारी घर्षण क्रियाद्धारा आगो बालिन्छ । त्यही आगो बाट सिमलको बोटमा आगो लगाईन्छ । यो क्रियालाई थारु जातीको परम्परामा “चिर डुङ्ना ” भनीन्छ भन्छन् दंगीशरण वडा न. ३ का गुरुवा सिताराम चौधरी । यहि बलेको चिरमा लस्करै रोटि चढाईन्छ । त्यसपछि गरढु¥याहरुले आफनो घर — घरबाट गुईठा ल्याएर यहि आगोमा पोल्छन् र यही गुईठा सबैले आ —आफनो घर घरमा लगी आगो बालेर आजको खाना पकाउँने गर्दछन् । आजको दिन यस बाहेक अर्को विधिबाट आगो बालेर खाना नपकाउँने मान्यता रहि आएको छ भन्नुहुन्छ सोहि गाउँकी गृहणी मिनोदवी थारु । यो आगो बर्ष दिनभरी निभ्न नदिने चलन रहेको छ गृहणी थारु भन्नुहुन्छ ।


चीरदाह गरिसकेपछि सबै गरढु¥याहरु ग्रामीण देवस्थल “भुँईयार” मा भेला हुन्छन् । गुरुवाले सबै देवीदेवताहरुलाई रोटी चढाउँछन् । एक टपरी खाना चढाउँछन् । जसलाई थारुहरुले “पिट्रौन्हक भाट” भन्दछन् । त्यसपश्चात स —साना केटाहरु टपरीको खाना लीएर जलाशय जलस्रोत वा कुवाँमा जान्छन् र त्यहि खाना त्यही बसेर खान्छन् । त्यसपश्चात घण्ट बजाउँदै अश्लिल शब्द भट्याउँदै गल्लीमा ओहोर दोहोर गर्दछन् । “सेम्रक ढ्वाटा फुल गै र,े फुल गै रे, उप्पर लाग टेम्हरी, टेम्हरी ” यस्तो प्रकारको अश्लिल वाक्यांश भट्याउने कार्यले फ्रायडवादको सम्झना भनौँ या थारु जातीमा यौन स्वतन्त्रताको संकेत गर्न खोजेको जस्तो दिलाउँछ भन्नुहुन्छ थारु सस्ंकृवीद अशोक थारु । हाम्रो अवचेतन मनभित्र शुषुप्त अवस्थामा रहने यौन सम्बन्धि भावनालाई अभिब्यक्त गर्ने एउटा सिमा बाध्नुपर्ने भएकोले यस पर्वलाई आधार बनाएको कुरा चाखलाग्दो र अनुसन्धेय छ भन्नुहुन्छ सस्ंकृतीविद थारु ।


यसरी अश्लिल प्रकारको शब्द भट्याउँदै गल्लीगल्लीमा दौडिरहेका हुन्छन् स—साना केटाहरु । त्यसपछि बाँसको पिचकारी बनाएर रङ्ग छ्याप्छन् । अचेल भने आधुनीक यूगसंगै पलाष्टिकको पिचकारी बाट होली खेल्ने गरेको देख्न सकिन्छ । बाँसको पिचकारी बाट होली खेल्ने चलन लोप भईसकेको छ । आफनो पालामा बाँसको पिचकारी बनाउँन भ्याई नभ्याई हुन्थ्यौँ भन्छन् हेकुली ३ का ६० बर्षिय ………चाधरी । एक प्रकारको रमाईलो सगैँ आपसी सम्बन्ध कायम गर्नका लागि यो पर्वलाई थारुहरु लिने गर्दछन् । एक दिनको मात्र पर्व हुनाले ढुह्रेरी पर्वलाई रौनक र सहिष्णुताको रुपमा लिने गर्दछन् थारुहरु ।