विकटमा स्वास्थ्य शिविर

  
दैनिक अभियान सोमवार, फाल्गुन २६, २०७६

रीता लामा
घोराही, २६फागुनः दाङको विकट क्षेत्र बंगलाचुली गाउँपालिका ८ हासिँपुरमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम कार्यान्वय एकाई दाङले उक्त शिविरको आयोजना गरेको थियो । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरिएको शिविरमा त्यस क्षेत्रका करिव चार सय महिलाहरुले सेवाको लाभ लिएका थिए । शिविरको प्रदेश ५की सांसद दामा कुमारी शर्माले उद्घाटन गर्नुभएको थियो ।
शिविरको उद्घाटन गर्दै सांसद शर्माले महिलाहरुलाई आफुमा भएको रोग नलुकाउन र आफ्नो स्वास्थ्यको ख्याल राख्न महिलाहरुलाई सुझाव दिनुभएको थियो । उहाँले विशेष गरि गर्भवति र सुत्केरी हुदाँ महिलाहरुले खानपान र आराममा ध्यान नदिदा विभिन्न खाले स्वास्थ्य समस्या भोग्नुपरेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य व्यक्तीहरुले त्यहाँ सहभागि महिलाहरुलाई प्रदेश सरकारले उपलब्ध गराएको निशुल्क स्वास्थ्य शिविरको भरपुर उपयोग गर्न आग्रह गरेका थिए ।
बंगलाचुली गाउँपालिकाकी उपाध्यक्ष यमुना घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको उद्घाटन सत्रमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका सहजकर्ता टिका बस्नेतले विषय वस्तु माथि प्रकाश पार्नुभएको थियो । यस्तै महिला तथा बालबालिका शाखाकी पार्वती रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले गर्नुभएको थियो । शिविरमा करिव चार सय बढीले सेवा लिएका थिए । सेवा लिएका मध्य करिव २० जनालाई थप उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिने र त्यहाँ लाग्ने खर्च समेत प्रदेश सरकारले व्यहोर्ने कार्यक्रम रहेको छ ।

प्रजनन स्वाथ्य शिविरमा ३ सय ७२ जनाले स्वाथ्य सेवा लिएका छन् । शिविरमा धेरैजसो पाठेघरको समस्या भएका महिलाहरु रहेका छन् । जसमा १५ जनालाई पाठेघरको अप्रेसन गर्नु पर्ने भएको छ ।
भने फस्ट डिग्रिका ३० जना ,सेकेन्ड डिग्रिका रिङ राख्नु पर्ने २५ जना र थर्ड डिग्री १५ जना रहेका छन् । यी सबै महिलाहरुको उमेस ४५ वर्ष देखि ६० वर्ष सम्मका रहेका छन् ।

धेरै जसो महिलाहरुमा सेतोपानि बग्ने ,तल्लो पेट दुख्ने लगाएतका समस्यहरु रहेको बंगलाचुली गाउँपालिका स्वस्थ शाखा सह–संयोजक ईन्द्रा घर्तिले जानकारी दिनु भयो । यसै गरी शिविरमा हाईड्रोसिलका ५ जना विरामीहरु पनि फेला परेका छन् ।

शिविरमा प्रादेशिक अस्पताल तुलसीपुरका गाईनो विषेशज्ञ डा.विनोद सिङ, हाईड्रोलसिल विशेषज्ञ डा.बादल कार्की, वरिस्ठ अस्पताल नर्सिङ निरिक्षक रमा पराजुलीले विरामीहरुलाई स्वाथ्य सेवा प्रदान गर्नु भएको थियो ।