वस्ती बीचमा सिमेन्ट उद्योग, धुलो, धुवा र ध्वनी प्रदुषणको गुनासो बढ्दै

  
दैनिक अभियान बुधबार, माघ २२, २०७६

रीता लामा, घोराही, 

घोराही उपमहानगरपालिका वडा नम्वर ४मा अहिले घोराही सिमेन्ट उद्योग संचालनमा छ । सगरमाथा सिमेन्टको नाममा उद्योगले अहिले आफ्नो उत्पादन बजारमा पठाउदै आएको छ ।
स्थापना कालमा १२ सय मेट्रिकटन प्रतिदिन सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले दैनिक दुई हजार मेट्रिकटन उत्पादन गर्न थालेको छ । अर्थात उद्योगले आफ्नो उत्पादनमा बृद्धि गर्दै लगेको छ । तर त्यहाँका बासिन्दा भने उद्योगले धुवा, धुलो र ध्वनी प्रदुषण बढाएको भन्दै उद्योगको विरोधमा उत्रिएका छन् ।
घोराही ४ लक्ष्मीपुरका स्थानियवासी दिलबहादुर घर्तीले उद्योग कै कारण अव खेतिपाती गरेर खान नसकिने अवस्था आएको बताउनुभयो । ‘बारीमा तरकारी रोपे पनि खान मिल्दैन् । तरकारीको पातभरी सिमेन्टका धुलो जमेका हुन्छन् ।’ उहाँले भन्नुभयो ‘पहिले गाउँमा कतिधेरै फलफुलहरु उत्पादन हुन्थ्यो तर अव लिचि, कागती, आँप सबै फल लाग्दै गर्दा झरेर जान्छन् केही पनि फल्दैन ।’
उद्योग नजिकै रहेको डाडाँगाउँ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक सुनारले उद्योग स्थापना पछि विद्यार्थीहरुमा शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने जस्ता समस्या देखिएको बताउनुभयो । उद्योग छेउमै रहेको स्वास्थ्य चौकीमा पनि यसखालका विरामी धेरै आउने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् ।
उद्योगमा सिमेन्टको धुवा, धुलो र ध्वनीले आजित भए पछि त्यहाँका स्थानियवासीले उद्योग प्रभावित वातावरण संरक्षण तथा सरोकार समिति नाम दिएर वि.स २०७१ देखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।
उद्योग नजिकका स्थानियवासी एवम् वातावरण सरोकार समितिका सदस्य डा.गोविन्द आचार्यले उद्योग २४सै घण्टा चल्ने र रातको समयमा बढी ध्वनी र धुवाँ निकाल्ने हुदाँ आफुहरुलाई निदाउनै मुस्किल भएको बताउनुभयो । ‘हामीले उद्योगलाई बारम्वार राती छ घण्टा मात्रै भएपनि ध्वनी रोक्नुस भनेका छौ तर वेवास्ता गर्दै आएको छ ।’ उहाँले भन्नुभयो ‘उद्योगबाट निस्कने धुवा बढेको हुदाँ बाँच्नै मुस्लिक परेको छ ।’
तर घोराही सिमेन्ट इन्डष्ट्रिज प्रालिले भने सिमेन्ट उद्योग सरकारले तोकेको मापदण्डमा रही संचालनमा रहेको दावी गरेको छ । सिमेन्ट उद्योगका जनप्रशासन प्रमुख विकास शर्माले सिमेन्ट उद्योग सरकारबाट तोकिएको मापदण्डको पूर्ण दायरामा रही संचालनमा रहेको बताउनुभयो ।
उहाँले आफुहरुले स्थानीय नागरिकहरुलाई क्षमता र सीपको आधारमा रोजगारी दिने, सामाजिक उत्तरदायित्व बहन गर्ने, वातावरणीय प्रभाव मुल्यांकनमा सजग रही वृक्षारोपणलगायत प्रदुषण नियन्त्रणमा अत्यन्तै गम्भीर भई सिमेन्ट उद्योग संचालन भई रहेको बताउनुभयो ।
‘हामी सिमेन्ट उद्योगबाट कोही कसैलाई पनि नकारात्मक प्रभाव पार्ने खालको काम गरेका छैनौँ, उद्योग संचालनकै विषयमा यहाँहरु समक्ष त्यस्तो केही भए जस्तो लाग्छ भने केन्द्रबाटै विज्ञ टोली मगाएर अध्ययन गर्न सक्नुहुन्छ ।’ उहाँले भन्नुभयो ‘उद्योगमा जडित उपकरण र त्यस वरपरको वातावरण मापदण्डभित्र रही उद्योगलाई हरित बनाउने काम भएकाले उद्योग एक सय प्रतिशत ठीक ढंगले संचालन भईरहेको छ ।’ सिमेन्ट उद्योगका जनप्रशासन प्रमुख शर्माले पछिल्लो समय उद्योगको क्षमता बढाएर ४ हजार मेट्रिक टन प्रतिदिन उत्पादन गर्ने लक्ष्य अनुरुप हालै सरकारबाट इजाजत लिएर काम शुरु गरिएको जानकारी समेत दिनुभयो ।
यस विषयमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले उद्योगले कानूनी प्रकृया शतप्रतिशत पालना गरेर संचालन गरेको भए पनि यसका व्यहारीक पक्षलाई बुझेर उद्योग संचालनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मुल्यांकनलगायत पक्षमा उद्योगले नियमित काम गर्दै आए पनि स्थानीय नागरिकका समस्या बढ्दै जानुको कारण बारे गम्भीर बन्नु पर्ने बताउनुभयो । उहाँले उद्योग संचालन गर्न नदिने पक्षमा कोही पनि नरहेको भन्दै उद्योगलाई कसरी नागरिकमैत्री बनाउने, उद्योगका कारण पर्ने नकारात्मक प्रभाव कसरी निवारण गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिने भन्ने विषयमा बढी सम्वेदनशील हुनु अति आवश्यक रहेकोमा बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पटकपटक जनगुनासो बढेको हुदाँ अनावश्यक रुपमा निस्कने धूलो धुवाँ, ध्वनि प्रदुषणको तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन उद्योगलाई निर्देशन दिएको बताउनभयो । उहाँले भन्नुभयो ‘धुलोधुवाँ, ध्वनि अनावश्यक रुपमा निस्केर उद्योग वरपर बस्दै आएका नागरिकलाई असर गरेको छ भन्ने गुनासो धेरै नै आयो, के गरेर हुन्छ उद्योगले समाधान निकाल्नुपर्छ ।’
उद्योगले वातावरणीय प्रभावको असर कम गर्न विभिन्न प्रयास गरिरहेको, प्लान्ट जडान गर्दा प्रदुषण कम गर्ने उपकरण जडान गरेको दावी गरेका हुदाँ आफुले त्यसको अनुगमन गर्ने बताउनुभयो । करिव चार अर्वको लगानीमा २०६२ सालमा घोराही सिमेन्ट उद्योग स्थापना भएको थियो ।