भेँडा मरेर पीडामा रहेका किसानलाई सहयोग

  
दैनिक अभियान मङ्लबार, माघ २१, २०७६

 

पूर्वी रुकुमको लुकुमबाट घोराहीको पाँच पोखरीमा भेँडा चराउन आएका भेँडा पालक किसानका सयौँ भेडा मरेपछि पीडामा रहेका किसानलाई आज मैगलबार युवाहरुको टोलीले राहत वितरण गरेको छ ।

२ सय बढीको संख्यामा भेँडा मरेर पीडामा रहेका भूमेगाउँपालिका वडा नम्बर १, लुकुमका भेडा पालक किसानलाई स्थलगत रुपमा घोराहीका नरेन्द्र पुनको नेतृत्वको एक टोलीले खाद्यान्नसहित किसानहरुको निशुल्क स्वास्थ्य परीक्षण, औषधीसहित नगद सहयोग गरेको छ । सहयोगी युवाहरुको टोलीले भेँडा मरेर पीडामा रहेका किसानहरुलाई केही भए पनि राहत होस् र उनीहरुको स्वास्थ्य अवस्था पनि बुझ्न भन्दै डाक्टरसहित प्रभावित स्थलमा पुगेको थियो । उनीहरुले चामल, दाल, नुन, तेल, बेसार, चिउरा, चिनी, मरमसलालगायत अरु खाद्यान्न सामग्री, भाँडाकुँडा, त्रिपाल र नगद ५ हजार सहयोग गरेका हुन् ।

करीव ५ सय भेँडाका साथ दाङ आएका ४ जना भेँडा पालक किसान पिलम पुन, रामकृष्ण पुन, धर्म पुन र धर्मकुमारी पुनका २ सय भन्दा बढी भेँडा मरेका छन् । सामाजिक अभियन्ताका रुपमा पछिल्लो समय सक्रिय भएका युवाहरु आदित्य भट्टराई, मुकेश डिसी, भीउकुमार पुन, दिपेन्द्र न्यौपाने, सकिल अहमद, डाक्टर बसन्त पुनलगायतको टोलीले प्रभावित स्थलमा पुगेर राहत सामग्री बाँडेको हो ।

खाद्यान्न सामग्री र भाँडा कुँडा नरेन्द्र पुनको टोलीले खरीद गरेको थियो भने त्रिपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले सहयोग गरेको थम्मन चौधरीले बताए । यस्तै, नगद सहयोग अमेरिकामा बस्दै आएका लक्ष्मण गुरुङले प्रदान गरेका हुन् । करीव २० हजार बराबरको राहत सामग्री वितरण गरिएको नरेन्द्र पुनले जानकारी दिए । राहत सामग्री पाए पछि पीडामा डुबेका किसानले उनीहरुलाई धन्यवाद दिएका छन् । उनीहरुले आफुहरुसँग रासन सकिन लागेका बेलामा सहयोग पाएपछि राहतको महसुस गरेको बताए ।