२१ माघ/ दाङ निवासी कांग्रेस सांसद पार्वती डिसी चौधरीलाई रकम ठगी गरेको भन्दै संसद सचिवालयमा उजुरी परेको छ ।

प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेकी दाङ लमही नगरपालिका ५ निवासी चौधरीलाई कारवाहीको माग गर्दै पीडितहरुले संसद सचिवालयमा उजुरी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी चौधरीलाई दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले ८ लाख ठगी गरेको आरोप लगाउँदै उजुरी दिएका हुन् ।

सांसद चौधरीले २०७४ सालमा शुरुमा तीन लाख र पछि ५ लाख समेत गरी आठ लाख रुपैयाँ लिएकोमा पटक–पटक आग्रह गर्दा पनि फिर्ता नदिएपछि उजुरी गर्नु परेको पीडितले बताएका छन् ।

पार्टीमा पटक–पटक उजुरी गर्दा पनि सुनुवाई नभएपछि संसद सचिवालय गुहार्नुपरेको उनीहरुको भनाई छ ।चौधरीलाई उनको एभरेष्ट बैंकको खातामा दुईपटक रकम पठाएको भौचरसमेत सचिवालयमा पेश गरिएको उनीहरुले बताएका छन् । विश्वासको सम्बन्धका कारण पार्टीको नेतालाई दिएको पैसा फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि जानुपरेको पाण्डेले बताए ।

संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर सोमबार दर्ता गरिएको उजुरीमा सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेकाले उनलाई झिकाएर रकम दिलाइदिन आग्रह गरिएको छ ।

यसबारे बुझ्न खोज्दा सांसद चौधरीको मोबाइल स्वीच्ड अफ गरिएको छ । संसद सचिवालयले उजुरी दर्ता भएको, तर यसबारे के गर्ने भन्ने जानकारी नभएको बताएको छ । चौधरी दोस्रो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।