विहान गुरुकुल, दिउसो विद्यालय

  
दैनिक अभियान मङ्लबार, माघ २१, २०७६

रीता लामा, घोराही, 

घोराहीका १३ बर्षिय विपिन पार्धे पद्मोदय नमुना माध्यामिक विद्यालयमा कक्षा ७मा पढ्नुहुन्छ । उहाँ दिउँसो १० बजे विद्यालय जानुहुन्छ । तर विहानको समय उहाँ गुरुकुलमा बिताउनुहुन्छ । विद्यालयमा नेपाली, अग्रेजी, गणित सिक्ने उहाँ गुरुकुलमा भने वेद, गीताका श्लोक पढ्नु हुन्छ । संस्कृत भाषा सिक्नुहुन्छ ।

दाङमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरक्ष रत्ननाथ मन्दिरमा गत बर्ष देखि गोरक्षनाथ वैदिक गुरुकुल स्थापना भएको छ । गुरुकुल स्थापना भए देखि यस क्षेत्रका करिव ४५ जना विद्यार्थी दिनहु गुरुकुलमा संस्कृत भाषा पढ्छन् ।
पद्मोदयमा कक्षा ७मा पढ्ने प्रसम्ंसा पोख्रेर ११ बर्ष पुग्नुभयो । उहाँ पनि विहानको समय गुरुकुलमा विताउनुहुन्छ । रझेना माविमा कक्षा ४मा पढ्ने दोर्ण भण्डारीलाई विहानको समयमा गुरुकुलमा वेद, रुद्री, गीता पढ्न निकै रमाइलो लाग्छ ।

गुरुकुलमा पढ्ने साना विद्यार्थीहरु विहान नित्यकर्म पछि लुङ्गी, कुर्ता, ढाकाटोपी, रामनाम लेखेको गेरु रंगको गलबन्दी भिरेर संस्कृत पढ्छन् । त्यहाँ पढ्ने धेरै विद्यार्थीहरु अहिले संस्कृत र हिन्दीभाषा स्पष्ट बोल्न भैसकेका छन् । उनीहरुले पढ्ने किताव संस्कृतमा छ ।
गुरुकुलमा दिनहुँ संस्कृत पढ्न आउने ११ बर्षिय प्रनिष योगी र सन्तोष गोराथोकी गोरखा माविमा पढ्नुहुन्छ । उहाँहरुलाई विद्यालयमा शिक्षकहरुले अगाडी गएर स्वस्थी वाचन गर्न लगाउदा निकै रमाइलो लाग्छ । शिक्षकले सधै जसो कक्षामा वा राष्ट्रिय गीतको समयमा स्वस्थी वाचन गर्न लगाउदा उहाँहरुलाई निकै रमाइलो लाग्छ । विद्यालयमा हुने अन्य कार्यक्रममा पनि उहाँहरु संस्कृतमा श्लोक भन्नुहुन्छ । आफुले पढ्ने विद्यालयमा मात्र होइन् । गुरुकुलमा पढ्ने धेरै वटुकहरु अन्य विद्यालयमा पनि संस्कृतका श्लोकहरु भन्न पुग्छन् । मेला महोत्सवबाट समेत त्यहाँका बटुकहरुलाई लहरै राखेर श्लोक भन्न लगाउनेहरु बढेका छन् ।

 

गुरुकुलमा भेटिनुभएकी एक विद्यार्थीकी अभिभावक सुसिला खनालले आफ्नी ११ बर्षिया छोरी प्रसंस्सा पोखरेललाई गुरुकुलमा भर्ना गरेको एक बर्षभयो । यस बीचमा छोरीमा धेरै परिवर्तन आएको उहाँ बताउनुहुन्छ । ‘गुरुकुलमा पढ्न थाले देखि छोरी धेरै अनुसाशित भएको महसुस गरेको छु ।’ उहाँले भन्नुभयो ‘बालबालिका सकारात्मक सोच्नु पर्छ, झुटो बोल्नु हुदैन भन्ने पनि सिकेकी छन् ।’ उहाँलाई छोरीले संस्कृत भाषामा श्लोक भनेको असाध्यै मन पनि पर्छ ।

गुरुकुलकाका अध्यक्ष प्रकाश भट्राई बालबालिकाको विहान साँझ खेर गएको समयमा गुरुकुलले संस्कृत भाषा र वेद पढाउन थालेको बताउनुहुन्छ । ‘हामीले गुरुकुल स्थापना गर्दा सुरुसुरुमा अभिभावकले विश्वास गरेका थिएनन । तर निरन्तर गुरुकुल चलेपछि उनीहरु विश्वास गरेका छन् ।’ उहाँले भन्नुभयो ‘अभिभावकको धारणा बुझ्न र सुझावको लागि हामीले हरेक हप्ता अभिभावकसँग अन्तरक्रिया गर्छौ, सुझाव संकलन गर्छौ ।’

बालबालिकाले संस्कृतमा बोल्दा, रुद्री, स्वस्थी वाचन गर्दा, गीता, वेद पढेको देख्दा अभिभावक खुसी भएको उहाँको भनाई छ । गुरुकुलमा आए देखि बालबालिका शान्त स्वभाव देखाउने, आत्मै देखि मजबुत भएको व्यवहार गर्ने गरेको हुदाँ पनि आफुहरुले अभिभावकको विश्वास जित्दै गएको उहाँको भनाई छ ।
‘अभिभावकहरु बालबालिकालाई असल संस्कार सिकाउन चाहान्छन् तर भने जस्तो विद्यालय पाएका छैनन् ।’ उहाँले भन्नुभयो ‘अभिभावकको इच्छा पुरा गर्न पनि हामीले गुरुकुललाई आवासिय बनाउने र सबै खालको शिक्षा दिने तयारीमा छौ ।’
अव गुरुकुलमा पढ्ने बालबालिकालाई अन्य विद्यालयमा जान नपरोस् भन्ने उद्देश्यले संस्कृत शिक्षासँगै नेपाली, अंगे्रजी, विज्ञान, कम्युटर शिक्षा दिने तयारीमा रहेको उहाँले बताउनुभयो ।