Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल

काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट पारेका छन्। खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने कुनै कारण पनि नभएको बताए।

‘मैले राजीनामा गरेको पनि छैन,’ उनले भने, ‘राजीनामा गर्नुपर्ने कुनै परिस्थिति पनि छैन, यो कसैले कुनै स्थानमा बसेर चलाएको हल्ला हो।’ प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री र महान्यायाधिवक्ताबीच सम्बन्ध बिग्रिएको बताइँदै आएको छ।

विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए।

महान्यायाधिवक्ता खरेलले आफ्नो र सरकारको बदनाम गर्नका लागि दुष्प्रचार गरिएको जिकिर गरे। संवैधानिक इजलासमा खरेल सहित ११ जना सरकारी वकिलले विघटनको पक्षमा बहस गरेका थिए। खरेलले आफूविरुद्ध कुनामा बसेर षडयन्त्र गरिएको बताउँछन्। उनले भने, ‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए।’ लोकपाटी