Loading... आजः ५ बैशाख २०७८, आईतवार

बस दुर्घटना : कम्तीमा ३७ को मृत्यु

नयाँ दिल्ली ।  बस नहरमा खस्दा कम्तिमा पनि ३७ यात्रुको ज्यान गएको छ । दर्घटना भारतको मध्य प्रदेशमा मंगलबार भएको भारतीय अधिकारीहरूले बताएका छन् । प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरूलाई उद्धार गरेको छ एक अधिकारीले एएफपीलाई बताए ।

बस  मंगलबार बिहान ५० भन्दा बढी यात्रुसहितको बस सटना गाउँ नजिक दुर्घटना भई नजिकैको नहरमा डुबेको हो । बस दुर्घटनाको कारण अझै खुलीसकेको छैन । भारतको सडकको विशाल सञ्जाल कमजोर तथा खराब रहेको कारण वर्षेनी हजारौँ भारतीयको सडक दुर्घटनाका कारण मृत्यु हुने गर्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस पूर्ण रूपमा डुबेको छ र सामजिक सञ्जालमा आएका तस्वीरहरूमा उद्धारकर्ताहरूले लाइफ ज्याकेट लगाएर निरन्तर उद्धार गरिरहेको देखाइएको छ ।प्राप्त विवरणअनुसार दुर्घटनापछि चालकसहित सात व्यक्ति पौडी खेली पानीबाट सुरक्षित स्थलमा जान सफल भएका बताइएको छ । घटनापछि नहरको पानी बन्द गरी बसलाई दुर्घटना भएको तीन घण्टापछि क्रेनको सहयोगमा पानी बाहिर निकालिएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यलाई क्षतिपूर्ती तथा राहत स्वरूप दुई लाख भारतीय रूपैयाँ सहयोग प्रदान गर्ने ट्वीटर सन्देशमा बताएका छन् । भारतमा कमजोर सडक संरचना, चालकको लापरबाही, पूराना गाडीलगायतका कारण सन् २०१९ मा एक लाख ५१ हजार ११३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।