Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

भारतको गोप्य योजना : नेपालमा पार्टी विस्तार गरी सत्ताको नेतृत्व गर्ने रणनीति

तुलसीपुर । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाले नेपालमा पनि पार्टी विस्तारको योजना बनाएको खुलासा भएको छ ।

नेपालमा पार्टी विस्तार गरी क्रमशः सत्ता सञ्चालनसम्म हैसियत बनाउने योजनामा भाजपा रहेको खुलासा भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा नेपाल र श्रीलंकामा पार्टी विस्तारको योजनामा रहेको खुलासा भएको हो ।

त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले शनिबार आयोजित कार्यक्रममा भाजपाको आगामी रणनीतिबारे खुलासा गरेका हुन् । पार्टी कार्यकर्तामाझ गृहमन्त्री तथा भाजपाका वरिष्ठ नेता अमित शाहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भारतका अधिकांश राज्यमा जित हासिल गर्ने र त्यसपछि छिमेकी मुलुकमा पनि पार्टीलाई स्थापित गरेर सरकार बनाउने भाजपाको योजना रहेको मुख्यमन्त्रीको भनाइ उधृत गर्दै त्रिपुराको अंग्रेजी अनलाइन इस्ट मोजोमा प्रकाशित समाचारमा उल्लेख छ ।

तर देवको अभिव्यक्तिलाई लिएर विपक्षी भारतीय राष्ट्रिय कांग्रेस र अन्य वाम पार्टीहरूले भाजपाको आलोचना गरेका छन् । साथै उनीहरूले पार्टीले देवको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुपर्ने मागसमेत गरेका छन् । सीपीआई (मार्कसवादी) का नेता तथा पूर्वसांसद जितेन्द्र चौधरीले मुख्यमन्त्रीलाई संविधान, लोकतन्त्रलगायतको कुनै ज्ञान नै नभएको बताएका छन् । भाजपाले नेपालविरुद्ध षड्यन्त्र गरेको पुष्टि भए यसको जवाफ भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुपर्ने चौधरीको भनाइ उधृत गर्दै मोजोले उल्लेख गरेको छ ।

त्यसै गरी देवको अभिव्यक्तिप्रति भारतीय राष्ट्रिय कांग्रेसका राज्य उपाध्यक्ष तपस डेले पनि आपत्ति जनाएका छन् । श्रीलंका र नेपाल दुवै स्वतन्त्र मुलुक भएको भन्दै तपस डेले एउटा स्वतन्त्र मुलुकविरुद्ध दिएको यस्तो अभिव्यक्तिका लागि मुख्यमन्त्रीलाई कारबाहीको माग गरेका छन् ।

तर यसबारेमा नेपाल सरकार र राजनीतिक दलहरुबाट कुनै प्रतिक्रिया आएको छैन ।

हेनुस भिडियो