ओलीले संघीयतालाई कुर्सीसँग साट्नुभयो : शर्मा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णालीका प्रदेशका इन्चार्ज एवं स्थायी समिति सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई कुर्सीसँग साँटेको आरोप लगाउनुभएको छ । नेकपाले राजधानीमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै शर्माले ओलीले सहिदको बलिदान र संघीयतालाई पद र कुर्सीसँग साटेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘ओलीले हाम्रो संघर्षलाई पदसँग साट्नुभयो । संघीयतालाई कुर्सीसँग साट्नुभयो । संघीयता कुनै सनकबाट पदसँग साटिन सक्दैन ।’ उहाँले नेपाली जनताका अधिकारलाई सुरक्षित गर्न आज आफूहरुले सभा आयोजना गरेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले आजको सभाका जनताको आवाज सुन्नुपर्ने भन्दै आजको जनताको शान्तिपूर्ण आवाज नसुने भोलि यो आवाज विद्रोहमा उत्रन सक्ने चेतावनी समेत दिनुभयो । जनताको आवाज विद्रोहमा उत्रिए संघीयता र संविधान विरोधी तानाशाहरु ध्वस्त हुने उहाँको भनाइ छ ।