Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

अमेरिकामा कोरोना संक्रमित एक नेपालीको अनुभूति

वासुदेव भट्टराई

 

 

आगो पिएर बाँच्ने बिबश मेरो कथा छ
जलेछु भित्रभित्रै छाति भरि व्यथा छ…

मोबाइलमा यहि गीत गुन्जिरहेको छ दुई आँखाका डिलबाट शितरुपी आँशुका धारा रोकिएका छैनन्। नाकले कुनै गन्ध थाहा पाएको छैन, जिब्रो आफ्नो हो कि अर्काको थाहा छैन। असह्य पीडा हुने गरी शरीरका मांसपेशी दुखेको छ, सुतेको खाट चर्खे पिंग जस्तो घुमेको छ, टाउकोमा सयौं किलोको बोझ भिराएको जस्तो भएको छ।

सोध्छन् कस्तो छ ?
ठिक छ मलाई,
गाह्रो त बनाएको छैन नि ?
छैन एकदम ठिक छ..
कोरोनासँग लड्न थालेको पाँचौ दिन भयो !
बाबा आइ मिस यु….
कहिले हग गर्न पाउँछु मैले ?

हामी दैनिक ७ घण्टा मात्र टाढा हुन्थ्यौं। हरेक दिनको बिहानी छोरोको गुड मर्निङसंगै सुरु हुन्थ्यो। अनि रात गुड नाइट। प्रत्येक १५ दिनमा लाइबेरीबाट नयाँ नयाँ स्टोरी बुक ल्याउँनु पर्दथ्यो। हरेक रात स्टोरी नसुनाई हुँदैन्थ्यो। बाबा यो किन यस्तो भयो ? त्यो किन त्यस्तो भयो ? आदि इत्यादि । अहिले छटपटी देख्नको लागि नै फेस टाइम गर्नु पर्ने। एउटा बाउलाई यत्ति कुरा पनि धेरै मिस हुने। तातो पानी ल्याइदिउँ ? खाना रेडी भयो ल्याउँ ? सुप बनाएर ढोका अगाडि राख्दिएको छु, कति टाढाको भैयो है यत्ति भन्न फोनको सहायता लिनु पर्ने ! श्रीमती !

यसो एकैछिन टोलाउँछु फोन बजिहाल्छ, कस्तो छ अहिले ? फोन नआओस् जस्तो लाग्छ। झर्को लाग्छ ! अनि फेरि फोन गरेर कस्तो छ भनेर सोधे पनि रोगसंग लड्न अलि सजिलो हुन्छ जस्तो लाग्छ। हल्का नाकबाट पानी बगेको थियो, टाउको दुखेको जस्तो भएको थियो, कता कता कमजोर फिल गरिरहेको थिए। आइतबार राति अचम्मै ज्यान दुख्यो, निन्द्रामै थियो सोचे सपना होला। बिहान उठ्दा त्यस्तो केहि छैन। सामान्य छ ! बेलुका काममा जानु छ। शरीर ठिक छ ! सामान्य रुघा लाग्न खोज्दै छ जस्तो भयो। मंगलबारसम्म सामान्य नै भयो। मंगलबार रातिदेखि शरीर काप्न थाल्यो। मांसपेशी असह्य पीडा हुने गरी दुख्न थाल्यो। शरीर एकदमै तातो भयो। ज्वरो आयो की भनेर थर्मामिटर निकाले ज्वरो नापे तर,ज्वरो रहेनछ। स्वाद केहीको आएन ! बाँस्ना गन्ध आएन ! नाक र जिब्रो दुबैले काम गर्न छोड्यो ! नुन चिनी छुट्याउन नसक्ने भए।

बिहान कति बेला होला जस्तो भयो। बिहान उठ्ने बितिक्कै श्रीमतीलाई भने जाम एक पटक कोरोना टेस्ट गरौं। मलाई त करिबकरिब कोरोना लागिसक्यो भन्ने भै सकेको थियो। सानो बाबु छ घरमा उसलाई र ममीलाई केहि नभए हुन्थ्यो भन्ने भयो। स्वाब दिएर आयौ ! मलाइ चाहिँ टाउको उठाउनै भएन। कुनै सामान्य लक्षण थिएन। एकैछिन सोफामा पल्टिए। छोरोले बाबा ज्यान दुखेको म मालिस गर्दिन्छु भन्दै शरीरमाथि उफ्रिन थाल्यो। उसको त्यो उफ्रैले यति आनन्द आउंथ्यो कि संसार सबै बिर्सिने गरी। तर उसलाई मेरो फेस तिर आउन दिएको थिइन्।अब रिपोर्ट आउँछ बाबु र श्रीमतीलाई नभए हुन्थ्यो भनेर मन मनै प्राथना गर्न थाले।

करिब चार बजेतिर रिपोर्ट आयो। बाबुको पहिले चेक गरें ‘नट डीटेक्टेड’ देखायो। बाबु एक हात उफ्रियो खुशी भयो। अब म कोठा भित्रै बस्नु पर्दैन है बाबा ? किन कि कोरोना भएपछि उसलाई कोठाभित्रै थुनिएर बस्नु पर्छ भन्ने मात्र चिन्ता थियो। श्रीमतीको चेक गरे उसको रिपोर्ट पनि ‘नट डीटेक्टेड’ आयो। सोचे अब त मलाइ नि कोरोना छैन होला। किन कि हामीसंगै छौं सधै ! उनीहरुलाई नभए पछि त मलाइ पनि नहोला भन्ने भयो। तर मनमा डर भने कायमै थियो। डर लागि लागि फेरी आफ्नो जन्ममिति राखेर चेक गरे ! ‘डीटेक्टेड’  देखायो ! छाँगाबाट खसे जस्तै भयो।

सानो बाच्चा छ घरमा कसरी जोगाउने भन्ने तिर ध्यान गयो। एउटा कोठामा भएका बेड बिस्तारा सारियो। तत्काललाई बाबुलाई बाहिर लिभिंग रुममा सुत्ने व्यवस्था मिलाइयो। जब मलाइ पोजेटिभ आयो बाबुको पनि अनुहार अध्यारो भयो। बाबा अब म हजुरलाई हग गर्न पाउँदिन है ..? म आइसोलेशनमा बस्नु पर्ने भयो। छोरो अनि श्रीमती क्वारेन्टाइन।

एकै छिनमा एन सी हेल्थ डिपार्टमेन्टबाट इमेल आयो। आफ्नो प्रियजनहरुलाई सुरक्षित गराउनुस्। सिडिसी गाइड लाइन फलो गर्नुस् सेल्फ आइसोलेशनमा बस्नुस। स्वास श्वासप्रश्वासमासमस्या आए इ एम एस बोलाउनुस। क्लोज कन्ट्याक भएकालाइ खबर गर्दिनुस्। स्वास्थ्यमा अरु समस्या आएमा फोन गर्न सक्नु हुन्छ भनेर नम्बर उपलब्ध गराइयो।

मसंग केहि दिनदेखि भेटघाट भएका सम्पूर्णलाई फोन गरी आफू कोरोना पोजेटिभ भएको कुरा जानकारी गराए। एकै छिनमा डुक प्राइमरी केयरबाट डा. को फोन आयो। धेरै पेन भयो भने पेन किलर खानुस्। २४ घण्टा नर्स लाइन खुल्ला छ फोन गर्न सक्नु हुन्छ हामी पनि फोन गरिरहने छौं। केहि आधार मिल्यो। त्यसपछि प्रत्येक दिन जस्तो डाक्टरसंग कुरा भई रह्यो। छैटौं दिन सामान्य जस्तै भयो। स्वाद फर्कियो। अब केहि सजिलो भयो। तर, खोकी सुरु भयो। छात्ती दुखेको जस्तो अनुभव भयो। पानी र बाफ लिइरहे।

बाबा धेरै तनाब नलिनु ! ठिक हुन्छ ! मैले मेरो टिचरलाई भनेको छु। टिचरले भनेको छिट्टै ठिक हुन्छ रे ! छोराले कोरोना सुरु भए देखि नै अनलाइन क्लास लिइरहेको छ। टिचर तथा उसको साथीहरुलाई बाबा बिरामी भएको कुरा भनिसकेछ। घरको हरेक कुराहरु टिचरलाई सेयर गरिहाल्छ। उसको बानी सधै बाबासंगै अँगालो हालेर सुत्ने। यो ४र५ दिन भैसक्यो छटपटी भएको छ। राती सुत्ने बेला बाबा अब सुतम् हजुर त्यहाँ सुत्नुस् म त्यहाँ ! भिडियो अन गर्नुस !
अनि फोन बाटै स्टोरी सुनाउनु पर्ने ! बच्चा न हो !

दिनहुँ २०/२५ कल फोन आउछन्। सोध्छन् कस्तो छ ? केहि सहयोग चाहिन्छ कि ? यत्ति भन्ने मान्छे हुँदा पनि धेरै आड मिल्ने रहेछ। तर कत्तिले त फोन नै नगरी पनि ढोकामा ग्रोसरी तरकारीहरु छोडेर जाने। आखिर हामी नेपाली नै हो। जहाँ भए पनि सेवाभाव त ज्युदै छ नि।

कठिन समयमा काम लाग्ने तथा नलाग्ने सबै प्रियजनहरुलाई नमन गर्छु। समस्या घुमिफिरी सबैलाई आउँछ। सधै सबैलाई उस्तै समय मिल्दैन। समय परिवर्तनशील छ। कहिले एउटाको पक्षमा त कहिले अर्कोको। शुभचिन्तक सबैप्रति कृतज्ञ रहने छु। हरेकदिन बिहान, बेलुका फोन गरी मलाई हौसला अनि आत्मबल बढाउन सहयोग गर्ने मेरो दिदि भिनाजुको गुन बिर्सिन सक्दिन। उहाँहरु यहाँ हुनुहुन्छ र त मैले सम्पूर्ण कुरा पाएको छु ।

लेखक भट्टराई, पालुङटार २ गोरखा लोकपाटी, (हाल नर्थ क्यारोलिना, अमेरिका)