Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

नेकपा एक नभए नेपालमा अब कम्युनिस्ट सरकार आउँदैन : गौतम

काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्। ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका हुन्। कार्यक्रममा गौतमले नेकपा विभाजित भएर आगामी निर्वाचनमा गए कम्युनिष्टको सरकार नबन्ने बताए। उनले विभाजित अवस्थामा ओली र दाहाल दुवैले नेतृत्व गरेको पार्टी पराजित हुने दाबी गरे।

उनले भने, ‘कम्युनिष्ट पार्टीका मतदाता बाँडिए नेपाली कांग्रेसले बहुमत ल्याउने पक्का छ, हामीले केही ठाउँमा जितौंला।’ उनले प्रधानमन्त्री समेत रहेका एक अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई बहुमत ल्याउने बताइरहे पनि त्यो सम्भव नरहेको बताए। ‘विभाजित अवस्थामा निर्वाचनमा गए हामी पराजित हुने भन्दा अर्को विकल्प छैन,’ गौतमले भने, ‘कम्युनिष्ट पार्टी फुटेपछिको दुःख हामी सबैले बुझेका छौं।’

गौतमले १३ वर्ष लगाएर एकीकृत गरेको पार्टी तीन वर्ष नहुँदै विभाजित अवस्थामा पुग्नु दुःखदायी रहेको बताए। उनले आउँदो निर्वाचन कांग्रेस शक्तिशाली हुने प्रक्षेपण पनि गरे। उनले पुरानो मतको हिसाब निकाल्दै नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने बताए। अघिल्लो निर्वाचनमा दुई ठूला कम्युनिष्ट पार्टी मिलेर निर्वाचनमा जाँदा ठूलो लहर आएको उल्लेख गर्दै गौतमले त्यतिबेला दुई पार्टीले ४३ लाख मतमात्रै आएको उल्लेख गरे।

उक्त निर्वाचनमा कांग्रेसले ३० लाख मत पाएको थियो। गौतमको अनुमानमा तीन वर्षमा करिब ७ लाख मतदाता बढेका हुनसक्छन् र ती मतदाता विभाजित हुँदा कांग्रेसको मत बढ्ने र नेकपा विभाजित हुदाँ झन् घट्नेछ। गौतमले भने,‘यो तथ्यले बताउँछ कि हामी हार्छौं र बीचबाट उठेको कांग्रेस सरकारमा पुग्ने पक्का छ। तर, नेताहरु फुटाएर बहुमत ल्याउँछौं भनिरहनुभएको छ।’

एकीकरण अभियानका अध्यक्षसमेत रहेका गौतमले पार्टी पुन: एकीकरणको योजना दुई चरणमा गरिने पनि बताए। पहिलो चरण प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि र दोस्रो चरणको कार्यक्रम सर्वोच्चको फैसला आएपछि सुरु हुने पार्टी एकीकरणसम्बन्धीको गौतमले तयार पारेको अवधारणापत्रमा उल्लेख छ। दुवै चरणमा पार्टी एकीकरणका विभिन्न विकल्पहरुमा छलफल हुने पनि बताइएको छ।

प्रतिनिधिसभा पुन:स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न-भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने पनि अवधारणापत्रमा उल्लेख छ। त्यस्तै दुई समूह एक नभई विभाजन भएमा दुवै पार्टीसँग मित्रवत् सम्बन्ध राख्ने पनि अवधारणापत्रमा उल्लेख गरिएको छ।

उपाध्यक्ष गौतमले व्यवहारिक र राजनीतिक रुपमा नेकपा फुटिसकेको भए पनि कानुनी रुपमा अझै पार्टी नफुटेको पनि बताएका छन्। प्रतिनिधिसभा पुन:स्थापनापछि पनि पार्टी एकीकरण नभए निर्वाचन अवधि र त्यसपछि पनि निरन्तर प्रयास गरिने पनि अवधारणापत्रमा उल्लेख छ। पार्टीको एकता राष्ट्रिय अभियानमा केन्द्रमा एक अधिकारसम्पन्न केन्द्रीय समन्वय समिति रहने बताइएको छ।

केन्द्रमा अधिकतम ६ सय ५१ सदस्य रहने व्यवस्था गरिएको र केन्द्रीय समन्वय समितिमा धेरैमा १ सय ५१ सदस्यीय कार्यसम्पादन समिति गठन गरिने पनि अवधारणापत्रमा उल्लेख छ। त्यस्तै प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति गठन गर्ने र त्यसमा प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्य रहने एकता अभियानको अवधारणापत्रमा उल्लेख छ।

पार्टी एकताका लागि प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समिति र आवश्यक संख्याको सचिवालय बनाइने पनि अवधारणापत्रमा उल्लेख छ। यसअघि गौतमले जुन समूहले अध्यक्ष दिन्छन् त्यही समूहमा आफू जाने भनेको कुरा राससमा प्रकाशित भएको थियो। तर गौतमले पछि उक्त समाचार सत्य नभएको उल्लेख गर्दै खण्डन गरेका छन्।लोकपाटी