तेक्वान्दो खेलमा ख्याती कमाउदै सुनिता

  
दैनिक अभियान मङ्लबार, पुस २९, २०७६

रीता लामा
घोराही, २९ पौष

हालै भारतमा भएको सिनियर महिला ४६ केजी तौल समुहमा दाङकी सुनिता विष्टले दुई वटा स्वर्ण पदक जित्नुभयो । घोराही १० ठाँटीगाउँ जन्मघर भएकी सुनिताले गत पौष १२ गते भारतको पश्चिम वंगालको असानसोलमा भएको प्रथम खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो फाईट तर्फ नेपालको प्रतिनीधित्व गर्दै सिनियर महिला ४६ केजी तौल समुहमा फाईट तर्फ स्वर्ण जित्नुभएको हो ।
त्यसको दुई दिन पछि पौष १४ गते पश्चिम बंगालकै कोलकत्तामा भएको सिनियर महिला १८ बर्ष माथि पुम्से विद्यामा नेपालका लागि थप अर्को थप स्वर्ण जित्नुभयो ।
उहाँले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको धेरै खेलमा आफ्नो क्षमता देखाउनुभएको छ र सफलता पनि प्राप्त गर्नुभएको छ । तर अन्तराष्ट्रिय स्तरको खेल भने उहाँले पहिलो पटक जित्नुभएको हो ।

सानै उमेरमा देशबाहिर पुगेर नेपालसंगै दाङको गौरवलाई खेलमार्फत परिचित गराउनुभएकी सुनिताले अन्तराष्ट्रिय स्तरको प्रतियोगिता भने त्यसै जित्नुभएको होइन । उहाँको लगनशिलता मेहेनत, परिश्रमले नै उहाँलाई यो सफलता हात लागेको हो । घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा विविएस प्रथम बर्षमा अध्ययनरत २० बर्षिया विष्टले पढाईसँगै आफ्नो खेललाई समेत निरन्तरता दिनुभएको छ ।
न त उहाँको आफन्तमा कोही खेलमा रुचि राख्ने थिए । न त छरछिमेकी । नत उहाँको स्कुलमा कुनै खेलकुद हुन्थ्यो नत गाउँको वातावरण नै खेलकुदमय छ । खेलको लागि आफ्नो नजिकमा कुनै वातावरण नभए पनि, ग्रामीण दुरदराजमा जन्मिए पनि उहाँ अहिले खेलमा अब्बल सावित हुनुभएको छ ।
खेलकुदको कुनै वातावरण नभएको परिवार र गाउँमा जन्मिएकी सुनिता अहिले अन्तराष्ट्रिय स्तरको खेलाडी बनिसक्नुभएको छ । गाउँमा अझै पनि उहाँ तेक्वान्दो सेलाडीले लगाउने सेतो कपडा लगाएर हिडेको, फाइटको लागि अभ्यास गरेको देख्दा आफ्न्त, छरछिमेकीहरु खिसि गर्छन् ।
‘खेल सिक्दै गर्दा शारीरिक अभ्यास स्वरुप पुस अप गर्दा हातमा ठेला परेको छ ।’ हत्केला देखाउदै उहाँले भन्नुभयो ‘हत्केला पछाडीको भागमा कालो रंग बसेको छ । त्यही रंगलाई देखाएर कतिपय आफन्तले अव तेरो विहे हुदैन, छोरी मान्छेको खस्रो हात हुनु राम्रो लक्षण होइन । पनि भन्ने गर्छन ।’ खेल खेल्दा आफन्तहरुले विहेकै सवाल उठाउने गरेको उनलाई फिटिक्कै मन पर्दैन । महिलाको अन्तिम गन्तव्य नै विहे भन्ने समाजलाई उनले त्यसको विपरीत मान्छे कुट्ने खेल खेलेर सवैलाई चकित पार्नुभएको छ ।
उहाँका आफन्तहरु विहे पछि लोग्ने कुट्नलाई फाइट वाला खेल खेलेको ? भनेर बारम्वार प्रश्न गर्ने, खिसिट्युरी गर्छन । तर उहाँलाई आफन्तले सुनाउने यस्तो खाले सवालको कुनै वास्ता लाग्दैन । कहिलेकाही खेलमा सहयोग गर्न भएनन् की भन्ने अनुभव भने मनमा आउछ ।

उहाँ कक्षा ७ मा पढ्दा देखि नै खेल खेल्न थाल्नुभयो । हापुर गाउँ कै जनजागृति आधारभुत विद्यालयमा पढ्दै गर्दा स्वर्गीय दिलिप केसीले उहाँलाई खेल्न सिकाए । तोक्वान्दोमा रुचि जगाए । सामान्य सिक्दै जादाँ उहाँलाई अहिले तोक्वादो नसा, पेसा र दैनिकी बन्यो ।
गत २०७३मा उहाँ बस दुर्घटनामा पर्नुभयो । जसको कारण उहाँको देव्रे हात फ्याक्चर भयो । रड हाल्नु पर्यो । सोही कारण केही समय उहाँलाई खेलबाट विश्राम लिनुपर्ने बाध्यता आयो । तर उहाँको रुचि भने घटेन । भन्नुहुन्छ ‘हातको रड निकालेर फालेपछि फेरी तेक्वान्दो गुरु दिपक केसीसँग भेट भयो, उहाँले खेल्नको लागि प्रेरित गर्नुभयो ।’
सुनिता अहिले साना विद्यार्थीलाई तेक्वान्दो सिकाउने गुरु पनि हुनुहुन्छ । विद्यालयका बालबालिका उहाँसँग विहानको समयमा तेक्वान्दो सिक्छन् । आफु पनि प्रत्येक दिन अभ्यास गर्नुहुन्छ ।
अहिले सुनिता घोराहीको अल्फा तेक्वान्दो डोजाङ्ग क्लवसँग आवद्ध भएर खेल खेलिरहनुभएको छ । तर पनि प्रयाप्त खेलकुद प्रतियोगिताको आयोजना नहुनु, राज्य स्तरबाटै यसको वेवास्ता जस्ता कारणले उहाँलाई खिन्नता भने बनाउछ । खेलकुदप्रति जिम्मेवार निकायको सोच फराकिलो नबन्दासम्म देशको खेलकुदको अवस्था सुध्रिन नसक्ने उहाँ बताउनुहुन्छ ।