Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

बढ्यो सवारी दुर्घटना, टिपरलाई टाइम कार्ड लागू

बुटवल । लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि टाइम कार्ड लागू गर्ने भएको छ । कार्यालयले पाल्पाको दोभानदेखि बुटवलको धागो कारखाना, धागो कारखाना रामनगरदेखि सुनवल तथा दोभानदेखि भैरहवा अंञ्चलपुरसम्म टिपरका लागि टाइम कार्ड लागू गर्ने भएको हो ।

टाइम कार्ड लागूभएपछि दोभानदेखि धागोकारखाना नामनगरसम्मको ११ किलोमिटर दुरी प्रतिघण्टा २० किलोमिटरको गतीमा ३३ मिनेट समयमा पुग्नु पर्ने छ । यसैगरी धागो कारखानादेखि सुनवलसम्मको २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतीमा ४६ मिनेट तथा दोभानदेखि भैरहवा अंञ्चलपुरसम्मको २८ किलोमिटर दुरीका लागि प्रतिघण्टा ३० किलोमिटरको गतीमा ५६ मिनेटमा पुग्नु पर्ने छ । कुनै पनि टिपरले अनिवार्य रुपमा टाइमकार्ड प्रयोग गरी चेक प्वाइन्टहरुमा देखाउनु पर्ने कार्यालयले जनाएको छ ।

लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख वरिष्ठ प्रहरी नायव उपरिक्षक डम्मर बहादुर बि.क.ले टाइम कार्ड लागू भएसँगै दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सोमबा कार्यालयमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि बुटवल-भैरहवा सडकमा सवारीका साधनहरुले लेनको प्रयोग सम्बन्धि सचेतना अभियान सञ्चालन गरिने जानकारी गराए । सिक्स लेन सडकमा सवारीका साधनहरु तथा मालवहाक साधनहरुले आफ्नो गतीअनुसरा प्रयोग गर्ने लेनका बारेमा प्रयोग गर्न सिकाइने भएको छ । विभिन्न ठाउँमा सडकको प्रयोग तथा नियम बारे भिडियो तथा होर्डिङ बोर्डहरु राखी सचेतना फैलाउनुका साथै नियम विपरित जानेलाई कारबाही गरिने वि.क.ले बताए ।

साढे १२ प्रतिशतले बढ्यो सवारी दुर्घटना

लुम्बिनी प्रदेशमा पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा वृद्धि भएको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको श्रावण देखि पुष मसान्तसम्म ६ महिनाको अवधिमा ५६६ सवारी दुर्घटना भएका थिए भने चालु आर्थिक वर्षको श्रावण १ देखि पुष मसान्तसम्म ६३७ दुर्घटना भएका छन् । यो संख्या अघिल्लो वर्षकोभन्दा १२ दशमलव ५४ प्रतिशतले बढी हो ।

यसैगरी गत वर्षको अघिल्लो ६ महिनामा २७६ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए भने यो वर्षको ६ महिनामा २५६ जनाले ज्यान गुमाएका छन् । यो वर्ष सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमा पुरुषको संख्या बढी छ । ४१ जना महिलाले ज्यान गुमाउँदा १९५ पुरुषले दुर्घटनामा ज्यान गुमाएका छन् । कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनाको अवधिमा १८ बालक र २ बालिकाले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार सडक दुर्घटनामा परी गत वर्षको अघिल्लो ६ महिनामा ८८१ जना घाइते भएका थिए भने यस वर्षको पछिल्लो ६ महिनाको अवधिमा ९२४ जना घाइते भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ४ दशमलव ८८ प्रतिशतले बढी हो ।

साढे ८ करोड राजश्व संकलन
लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले पछिल्लो ६ महिनाको अवधिमा ८ करोड ५२ लाख ८९ हजार राजस्व संकलन गरेको छ । कार्यालयले १ लाख ३४ हजार ७२० सवारीका साधानलाई कारबाही गरी गत वर्षको अघिल्लो ६ महिनाको अवधिभन्दा २७ दशमलव ९७ प्रतिशतले बढी राजस्व संकलन गरेको हो । अघिल्लो वर्षको ६ महिनामा १ लाख ६ हजार ६९९ सवारीलाई कारबाही गरी ६ करोड ६६ लाख ४६ हजार राजस्व संकलन गरेको थियो । कार्यालयले संकलन गरेको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८२८ जनालाई कारबाही गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ हजार ६७३ जना कारबाहीमा परेका थिए । मापसे कारबाहीबाट प्रहरीले यो वर्ष ८ लाख २८ हजजार राजश्व संकलन गरेको छ भने अघिल्लो वर्ष २६ लाख ७३ हजार राजश्व संकलन गरेको थियो । पछिल्लो ६ महिनामा मापसे कारबाही संख्या घट्नुको मूख्य कारण कोरोना महामारी र लकडाउन भएको कार्यलयले जनाएको छ । पछिल्लो ६ महिनामा मापसे कारबाही संख्या ६९ दशमलव शून्य २ प्रतिशतले कमी आएको हो ।हाम्रोमत