घोराहीमा मेयर र उपमेयर कप सुरु

  
दैनिक अभियान आइतवार, पुस २७, २०७६

घोराही,
घोराही उपमहानगरपालिकाको आयोजनामा आइतवार देखि घोराहीमा तेस्रो मेयर कप रनिङ फूटबल सुरु भएको छ भने प्रथम उपमेयर कप छात्रा भलिवल प्रतियोगिताको उद्घाटन गरिएको छ ।
घोराही १८ नवलपुरमा रहेको खेल मैदानमा दुवै खेल सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधी सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सचेतक शान्ता चौधरीले उद्घाटन गरेकी हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद चौधरीले खेल क्षेत्रलाई अघि बढाउन सरकारले लगानी र संरक्षणमा बिषेश ध्यान दिएको बताइन ।
उनले स्थानिय सरकारले समेत यसलाई चासोका साथ लिएर विभिन्न प्रकारका खेलकुद प्रतियोगिताको आयोजना गर्नु सुखद कार्य भएको बताइन । उनले खेलकुद जित्ने र हार्ने मात्रै नभई स्वस्थ रहने, अनुशासित बन्ने र आत्मीयता बढ्ने क्षेत्र भएको उल्लेख गरिन् ।
सामाजिक विकास समितिका संयोजक भरत अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले खेलकुदलाई नगरले विषेश पक्षकारुपमा विकास गर्ने योजना बनाएको जानकारी गराए ।


खेल क्षेत्रको संरक्षण, प्रर्बद्धन, खेलाडीहरुलाई उत्साहित एवं खेलप्रति आकर्षित गर्न नगर स्तरीय र वडा स्तरमा समेत खेलकुदलाई उच्च प्राथमिकता दिईएको बताए । जिल्ला फुटवल संघका अध्यक्ष शुसिल श्रेष्ठले सरकारकै संरक्षण र लगानीमा खेल क्षेत्रको विकास हुने बताए ।
उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण गोविन्द घर्तीले गरेका थिए । मेयर कपमा १९ वटै वडाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन भने उपमेयर कप छात्रा भलिबल प्रतियोगितामा ११ विद्यालयका छात्राहरु सहभागी हुने भएका छन् ।