पहाडसित (कविता)
(कविता)
कृष्ण उदासी
ए पहाड !
मलाई
तेरोजस्तै तन दे
शुभ्रशान्त मन दे !
हावाका बिषाक्त साखहरूले
हुरीका बिषाक्त साथहरूले
आँधीका कठोर झोक्काहरू उठेर
बर्षाका निर्मम भेलहरू उर्लिएर
कपाऊन् अलिकति मलाई
थकाऊन् अलिकति मलाई
ए पहाड १
विचारको अविचल किल्ला दे
तेरोजस्तै तन दे
शुभ्रशान्त मन दे !
बिषका वृक्षहरू उम्रिएर
उन्युका झाडीहरू फैलिएर
गृष्मका खडेरीहरूले
कुल्चिऊन् छातीका गह्रागह्रामा
कुल्चिऊन् मनका धराधरामा
जलाऊन् अलिकति मलाई
गलाऊन् अलिकति मलाई
ए पहाड !
सिंगो आकाश थामिदिने
तेरोजस्तै तन दे
शुभ्रशान्त मन दे !
हिउँका खातैखातहरूले
असिनाका लातैलातहरूले
पैह्रोका घातैघातहरूले
मान्छेका बातैबातहरूले
झुकाऊन् अलिकति मलाई
सुकाऊन् अलिकति मलाई
ए पहाड !
विश्वासको दह्रो छाती दे
तेरोजस्तै तन दे
शुभ्रशान्त मन दे !
डढेलोका मुस्लाहरू निभाउने
स्वाभिमानका ज्योतिहरू जगाउने
ए पहाड !
दृढता र आँट दे
तेरोजस्तै तन दे
शुभ्रशान्त मन दे !