भेटिएन् (गजल)
(गजल)
दिपेन्द्र हिमजाली, रुकुम पश्चिम
जुन मन्दिरमा झुक्न सिकाइयो त्यहाँ भगवान भेटिएन ।
शिल्पाकारको मुर्ती भेटियो उसको पहिचान भेटिएन ।।
एउटी नारी प्रसव वेदनामा आफ्नो ज्यान गुमाउदै छे ।
उसलाई अस्पताल पुर्याउन गाउँमा जवान भेटिएन ।।
गोर्खालीको नाम पानाहरुमा सिमित बनेछ अचेल ।
रगत पसिना बेचिरहेका युवाहरुको सम्मान भेटिएन ।।
छोराछोरीको भविष्य बनाउन बाबा मुग्लान पस्यो ।
श्रम बेच्यो कमाएर आयो चुल्हामा जहान भेटिएन ।।
गाई मारेर गधा पोसिने मेरो पुस्ताको बस्ती भित्र ।
स्वरोजगारको नारा भेटियो उद्दारको विधान भेटिएन ।।